काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको विजेता जनकपुर यस सिजन अंकतालिकाको पुच्छारमा पुगेको छ ।

पहिलो सिजनमा ‘फस्ट’ भएको जनकपुर यस सिजन भने ‘लास्ट’ हुन पुग्यो । दोस्रो सिजनमा जनकपुर मात्र एक खेल जितेर अन्तिम स्थानमा सीमित भएको हो। आइतबार भएको लिग चरणको अन्तिम खेलमा जनकपुर कर्णाली याक्ससँग तीन रनले पराजित भयो ।
यस जितसँगै कर्णालीले छैटौँ स्थानमा रहँदै दोस्रो सिजनको एनपीएल यात्रा सम्पन्न गर्यो। कर्णाली र चितवन राइनोजको समान चार अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहँदै छैटौँ स्थानमा उक्लियो, भने चितवन सातौँ स्थानमा झरेको छ।
जनकपुरले यस सिजन लिग चरणको सात खेलमध्ये केवल एक खेलमा मात्र जित हासिल गरेको छ। बाँकी ६ खेलमा हार व्यहोर्नु परेको छ। लिग चरणमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएर आफ्नो पहिलो जीत दर्ता गरेको थियो।
पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले, दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो। चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोर्नु परेको थियो।
पाँचौँ खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले हराएर प्रतियोगितामा पहिलो जित निकालेको थियो।
छैटौँ खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएको जनकपुर अन्तिम खेलमा कर्णाली याक्ससँग तीन रनले हार्यो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले सात विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो ।
लिगको पहिलो क्वालिफायर मंगलबार हुनेछ, जसमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्स भिड्ने छन्। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ।











