काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३३१ स्टकको ८३ हजार २७३ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, इंगवा हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यसर्वाधिक ५.१६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५५ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै,सागर डिष्टिलरीको करिब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने पियोर इनर्जीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।











