काठमाडौं । सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा उक्लिएका छन् । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा मङ्गलवार अविनाशले दोस्रो विकेटका रूपमा सन्दीपलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका हुन् । यससँगै जारी एनपीएलमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् । उनको नाममा १६ विकेट पुगेको छ ।

एनपीएलको पहिलो क्वालिफायरमा मङ्गलवार उनले दुई विकेट लिए । पहिलो विकेटका रूपमा लोकश बमलाई आउट गरेका थिए भने दोस्रो विकेटका रूपमा सन्दीपलाई आउट गरेका हुन् । विराटनगरविरुद्धको खेलमा ३.१ ओभर बलिङ गरेका उनले २२ रन मात्रै खर्चिए ।
दोस्रो स्थानमा रहेका सन्दीपले अहिलेसम्म १५ विकेट लिएका छन् । मङ्गलवार सुदूरपश्चिमविरुद्धको खेलमा उनी विकेटविहीन भए । चार ओभर बलिङ गरेका उनले १६ रन मात्रै दिए ।
त्यस्तै, सर्वाधिक विकेट लिने बलरको तेस्रो स्थानमा तीन खेलाडी छन् । काठमाडौं गोर्खाजका शाहब आलम, सुदूरपश्चिमका हरमित सिंह र काठमाडौंकै करण केसी छन्। तीनै जनाको नाममा समान १२ विकेट छ ।
अहिलेसम्म सात खेल खेलेका शाहबले १२.६६ को औषतले विकेट लिएका छन् । त्यस्तै, आठ खेल खेलेका हरमितले १५.७५ को औषतले विकेट लिएका छन् भने करणले सात खेलमा १६.५० को औषतले विकेट लिएका हुन् ।
सर्वाधिक विकेट लिने पाँचै खेलाडी रहेको टोलीले अझै एक/एक खेल्न बाँकी छ । जसले गर्दा विकेट लिनेको सूचीमा फेरबदल हुनसक्छ । सुदूरपश्चिम फाइनलमा पुगेकाले अविनाश र हरमितले एक खेल खेल्न पाउनेछन् । आजको खेल हारे पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएकाले सन्दीपले पनि विकेट थप्न सक्छन् । विराटनगरले दोस्रो क्वालिफायरमा जित हासिल गरेमा सन्दीपले दुई खेल खेल्न पाउनेछन् ।
त्यस्तै, ईलिमिनेटरमा पुगेको काठमाडौंले पनि एक खेल खेल्न बाँकी छ । बुधवार काठमाडौं र लुम्बिनीबीच हुने खेलमा शाहब र करणको विकेट थपिन सक्छ ।











