काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य दलबहादुर राना र केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

दुवै नेताले पारिवारिक कारणलाई मुख्य आधार बनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
४५ वर्ष लामो राजनीतिक यात्रामा रहेका दलबहादुर राना एमालेको आसन्न ११औँ महाधिवेशनअघि सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । उनले शुक्रवार फेसबुकमा लेखेका छन्, ‘पारिवारिक जिम्मेवारी र स्वास्थ्यका कारण अब सक्रिय राजनीतिमा रहन सम्भव नभएकाले बिदा लिँदैछु । तर, पार्टी सदस्यको हैसियतमा देश, जनता र पार्टीको हितमा अनुभवको आधारमा समय-समयमा योगदान गर्नेछु ।’
राना बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा रहेका थिए । नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका उनी दशौँ महाधिवेशनपछि भूमि व्यवस्था विभागको इञ्चार्जसमेत भएका थिए । उनी दुई-दुई पटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालीन लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य तथा सहइन्चार्ज भएका थिए । राजनीतिक जीवनमा राना दुई पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य र भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत भएका थिए ।
यस्तै, एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद भुपेन्द्रबहादुर थापाले पनि सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरेका छन् ।
म्याग्दीबाट २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित थापाले सामाजिक सञ्जालमा लेखेका छन् ,’पारिवारिक समस्याका कारण अब सक्रिय राजनीतिक भूमिकामा रहन नसक्ने भएकोले सबैमा जानकारी गराउँछु । तर, आन्दोलन र पार्टीप्रतिको निष्ठा र इमानमा कहिल्यै कमी आउने छैन ।’











