रुपन्देही । सिद्धार्थनगर नगरपालिकाको एक सरकारी गाडी तीन दिनदेखि बेपत्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कडा परिपत्रलाई चुनौती दिँदै उपप्रमुख उमा अधिकारीले नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी हुन प्रयोग गरेको भनिएको उक्त गाडीको अत्तोपत्तो छैन ।

नगरपालिकाको नयाँ सेतो ह्युण्डाई क्रेटा (नम्बर प्लेटः बा.प्र.०१–०३३ च १८९७ एशियाली विकास बैंक (एडिबि)को लगानीमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गत प्राप्त भएको हो ।
स्थानीय स्रोतका अनुसार यो गाडी गत बुधबार मध्यरातमा नगरपालिकाबाट बाहिरिएको थियो । सधैं नगरपालिकाका सवारी चालकले चलाउने यो गाडी अहिले सवारी चालकबिनै कहाँ गयो भन्ने बिषय झनै रहस्यमय छ । स्रोतका अनुसार बिहीबार बिहान उपप्रमुख उमा अधिकारी काठमाडौं प्रस्थान गर्दा यो गाडी प्रयोग गरेकी थिइन ।

उक्त गाडी तिनदिन देखि नगरपालिकामा छैन । “यदि उपप्रमुखले गाडी नलगेको हो भने यो गाडी कहाँ छ ? के यो हराएको हो ? नगरपालिकाले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यो गाडी एशियाली विकास बैंक (एडिबि)को लगानीमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्तर्गत नगरपालिकालाई प्राप्त भएको हो ।
उपमेयरले नियमित रुपमा प्रयोग गर्ने सरकारी नम्बर प्लेटको गाडी कार्यालयमै राखेर आम नागरिकलाई झुक्याउन रातो नम्वरको तर नगरपालिकाको सवारी साधन दुरुपयोग गरेपछि नगरपालिकाका कर्मचारीहरु समेत आएका प्रश्नमा के जवाफ दिने भनेर अन्यौलमा देखिन्छन् ।
‘गाडी मध्यरातमा उपप्रमुखले लगेको हो । चालक लग्नु भएको छैन । तर अहिले गाडी कहाँ छ ? पार्टीको महाधिवेसनको अरु के काममा छ, त्यो उहाँलाई नै थाहा होला । हामीलाई थाहा छैन’ नगरपालिकाका एक कर्मचारीले दृष्टिन्यजलाई बताए ।











