काठमाडौँ । आउँदो सिजनका इन्डियन प्रिमियर लिग आईपीएल र पाकिस्तान सुपर लिग पीएसएल टी-२० क्रिकेट प्रतियोगिता एकैदिन सुरु हुने भएका छन् ।

१९औँ संस्करणको आईपीएल आगामी वर्ष मार्च २६ देखि मे ३१ सम्म आयोजना हुनेछ । यद्यपि भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले विस्तृत तालिका सार्वजनिक गरिसकेको छैन । टी-२० विश्वकप सकिएको करिब तीन सातापछि आईपीएल सुरु हुन लागेको हो ।
यसैगरी, ११औँ संस्करणको पीएसएल पनि मार्च २६ देखि मे ३सम्म सञ्चालन हुने पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ। यो संस्करण अहिलेसम्मकै सबैभन्दा लामो हुनेछ, जसको अवधि ३९ दिन रहनेछ। यसअघि पीएसएल सामान्यतया ३० देखि ३५ दिनभित्र सम्पन्न हुने गरेको थियो तर यसपटक तालिकामा झन्डै एक साता थप गरिएको छ।
पीएसएल सुरु हुनुअघि जनवरी ८ मा इस्लामाबादमा हुने अक्सनमार्फत दुई नयाँ फ्रेन्चाइजी टोली थपिनेछन्। त्यससँगै पीएसएल आठ टोली सहभागी हुने प्रतियोगिता बन्नेछ।
लगातार दोस्रो वर्ष आईपीएल र पीएसएल एकै समय जुध्न लागेका हुन् । सन् २०२५ मा भने आईपीएल सुरु भएको करिब २० दिनपछि, अप्रिल १२ पीएसएल सुरु भएको थियो ।











