Logo
Logo

जेनजी आन्दोलनपछिको क्षतिः ५ अर्ब १८ करोड पुग्यो दाबी भुक्तानी


0
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बिमा कम्पनीहरूमा परेको दाबीमध्ये करिब ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ । जेनजी आन्दोलन भएको तीन महिनाभन्दा बढी समय बितिसक्दा दाबी भुक्तानी भने धिमा गतिमा मात्रै बढेको हो । 

बिमा दाबी भुक्तानीमा भएको ढिलाइप्रति निजी क्षेत्रको गुनासो आउन थालेको छ । तर कम्पनीहरूले भने दाबी भुक्तानी छिट्टो सकाउन आफूहरू लागि परेको जनाएको छ । 

बिमा प्राधिकरणका अनुसार, कुल ३ हजार ३०३ वटा बिमा दाबी परेकोमा हालसम्म २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम दाबी परेको थियो । 

१४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरूले दाबी भुक्तानी गरिरहेका छन् । यद्यपि भुक्तानीको गति भने धिमा नै छ । 

प्राधिकरणको तथ्यांक अनुसार, सम्पत्ति बिमातर्फ ७१० वटा दाबीबाट करिब १९ अर्ब २ करोड रुपैयाँ दाबी परेको थियो । जसमध्ये  हालसम्म करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ । 

त्यस्तै, मोटर बिमातर्फ २ हजार ३११ वटा दाबीबाट करिब ३ अर्ब ४७ करोड रुपैयाँ दाबी परेकोमा करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २२५ वटा दाबीमध्ये करिब ५५ करोड ४७ लाख रुपैयाँ दाबी परेकोमा करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ ।

परिवहन बिमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँ दाबीमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बिमातर्फ ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँ दाबीमध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको छ ।

जेनजी आन्दोलनका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी गरिसकेको तथ्यांकमा उल्लेख छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीबाट परेको २ हजार ८६२ वटा पुनर्बीमा दाबीको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांक उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्