
काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गरेको छ ।
एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गतत नोभेम्बर १८ मा नेपाल र मेलसियाबीच मलेसिया भएको खेलका दौरान नियम उलङघन गरेको भन्दै एएफसीको अनुशासन तथा इथिक्स कमिटीले एन्फालाई कारबाही गरेको हो ।
कमिटीको १५ डिसेम्बर २०२५ मा बसेको बैठकले सो खेलको पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफको सुरुवातमा १ मिनेट ३० सेकेन्ड मैदान छिर्न ढिलाइ हुँदा नेपाली अफिसियललाई दोषी देखाएको छ । सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो ।
यो एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन हो । निर्णयमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघलाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेकोमा २ हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ ।’
जरिवाना निर्णय सूचित भएको मितिबाट ३० दिनभित्र तिर्नुपर्नेछ, जसअनुसार एएफसी अनुशासन तथा इथिक्स संहिताको धारा ११.३ लागू हुन्छ ।
सोही खेलमा मलेसियन फुटबल संघलाई पनि यस्तै ढिलाइका लागि २ हजार ५ सय डलर जरिवाना गरिएको छ । यसबाहेक मलेसियालाई खेलपछिको पत्रकार सम्मेलनमा प्लेयर अफ द म्याच सहभागी नगराएको र खेलाडी मोहम्मद फैसल बिन अब्दुल हलिमलाई पनि अलग्गै जरिवाना तोकिएको छ ।











