Logo
Logo

 सेयर बजार दोहोरो अङ्कले घट्यो


315
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक १९.९२ अङ्क घटेर २५९५.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.३५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३४५ स्टकको ७० हजार ५७६ पटकको कारोबारमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

एसवाई प्यानल नेपालको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ६२ रुपैयाँ २० पैसा बढेर ६८४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, १०.२५ प्रतिशत सिटिजन्स बैङ्क डिबेञ्चर २०८६ को मूल्य ९.८३ प्रतिशत बढेको छ भने ९ प्रतिशत नेपाल एसबिआई बैङ्क ऋणपत्र २०८९ को सेयरमूल्य आज ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सिन्धु विकास बैङ्कको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको यस दिन १३ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बलेफी हाइड्रोपावर पब्लिकको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैङ्क, वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्