काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा आउँदो पुस ७ गते सोमबारदेखि १२ गतेसम्म ली–निङ राष्ट्रिय बास्केटबल छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौंको बौद्धस्थित डंकमान्डूमा हुने यो प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगका लागि छनोट चरणका रूपमा सञ्चालन गर्न लागिएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो ।
प्रतियोगितामा सहभागी १२ टोलीमध्येबाट ४ टोली राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछन् । यसअघि नै छनोट भइसकेका ४ टोलीसँगै छनोट चरणबाट आएका टोलीहरू सहित कुल ८ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी यसअघि नै राष्ट्रिय बास्केटबल लिगमा छनोट भइसकेका छन् ।
छनोट प्रतियोगितामा सहभागी टोलीहरू चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आइएसए, तरहर र त्रिभुवन आर्मी क्लब रहेका छन् । समूह ‘बी’ मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी छन् । समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब छन् भने समूह ‘डी’ मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र शंकरदेव कलेज सहभागी छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनलमा पुग्ने टोलीहरूले राष्ट्रिय बास्केटबल लिगमा स्थान सुरक्षित गर्नेछन् ।












