
काठमाडौं, २८ असोज । नेकपाका उपाध्यक्ष बामदेव गौतमबिरुद्ध परेको मुद्दा बुधबार पनि संवैधानिक इजलासको पेसीमा चढ्नै नपाइन स्थगित भएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । नेता गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश जबराले १४ असोजमा आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।
यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’मा बसेको कारण देखाउँदै नेता गौतमको मुद्दा पेसीबाट हटाइएको बताइएको थियो । आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ । यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ ।
राजनीतिक चलखेलले गौतमको मुद्दा संवैधाननिक इजलासको पेसीमा चढ्न नसकेको स्रोतको भनाइ छ । गौतम पक्षका कानुन व्यवसायी अधिवक्ता सुरेन्द्र थापाका अनुसार ३० गते शुक्रबार पनि संवैधानिक इजलास तोकिने सम्भावना छैन । किनभने त्यस दिनबाट कात्र्तिक १५ गतेसम्म अदालत बन्द हँदैछ ।














