Logo
Logo

 दोहोरो अङ्कले घट्यो नेप्से 


378
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से  घटेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि बढिरहेको नेप्से, सोमबार भने घटेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक १०.५३ अङ्क घटेर २६२२.८८ विन्दुमा झरेको छ । त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.४७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

 आज सोमबार एसवाई प्यानल नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २३ करोड २ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।  विकास बैङ्क र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अङ्क बढेको हो । घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्