रसुवा । झन्डै छ महिनादेखि बन्द रहेको रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा ठप्प भएको थियो।
नाका पुनः सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लामो बेलिब्रिज निर्माण गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार पुलको भारवहन क्षमता ५५ टन रहेको छ।
नाका खुलेसँगै चिनियाँ सामान आयातका लागि आठवटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रवेश गरिसकेका छन् । थप कन्टेनर जाने क्रममा रहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।
नाका बन्द रहँदा अघिल्लो वर्षको तुलनामा २२ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए।
यद्यपि पुल सञ्चालनमा आए पनि सडक अवस्था अझै जोखिमपूर्ण रहेको चालकहरूको गुनासो छ । असारको बाढीले दर्जनौँ स्थानमा सडक कटान भएपछि हाल ट्र्याक मात्र खोलिएको छ । टेवा पर्खाल मजबुत नहुँदा दुर्घटनाको जोखिम रहेकाले प्रशासनलाई आवश्यक सतर्कता अपनाउन चालकहरूले आग्रह गरेका छन् ।












