काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार बढेर बन्द भएको नेप्से, आज सोमबार भने घटेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ५.५४ अङ्क घटेर २६३५.०० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य साढे ८ प्रतिशत बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड ३ को इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ४.२५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड २२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, राधी विद्युत् कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत घटेको छ ।












