काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा ग्लामोर्गन टिमका सहायक प्रशिक्षक इयान हार्भेलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ ।

क्यानले बिहीबार आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपलाई लक्षित गर्दै राष्ट्रिय टोलीको विशेष तयारीका लागि हार्भेलाई नियुक्त गरेको हो ।
क्यानका अनुसार हार्भेको अन्तर्राष्ट्रिय खेल अनुभव र प्रशिक्षकका रूपमा रहेको दक्षताले विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताअघि नेपाली टोलीको बलिङ विभागलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
क्यानले हार्भेको मार्गदर्शनले नेपाली बलरहरूको विकासमा उल्लेखनीय योगदान पुग्ने र विश्वकप यात्रामा राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विश्वाससमेत व्यक्त गरेको छ ।
हाल नेपालका क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल छन् भने सहकायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।











