काठमाडौं । भावी प्रधानमन्त्री घोषणा गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापाको क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जितिरहेको सो क्षेत्रमा यसपटक मेयर साह जाने भएका छन् । ओली सोमबार दिउसो झापा पुगिसेका छन भने बालेन साँझ पुगेका छन् । उनीहरु दुवैको भेट क्षेत्र ५ मै हुनेछ ।

साहलाई झापाबाट चुनाव लड्ने प्रेरणा दिइरहेका मध्ये एक हुन रास्वपाका शम्भु ढकाल ‘सुस्केरा’ । नेपाल प्रहरीको सईबाट अवकाश पाएका उनी झापा क्षेत्र नं ४ का स्थायी बासिन्दा हुन । विगत२०७९को निर्वाचनमा एमालेका एलपी सावाँसँग चुनाव लड्दा तेस्रो भएका थिए । उनै ढकाल बालेन साहले चलाएको समानन्तर कार्यालय ज्वागलमा पुगेर झापा जानका लागि उक्साएका थिए ।
रवि लामिछानेका खास मान्छे भनेर चिनिने ढकालले विगतको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट १४ हजार ४९ मत ल्याएका थिए । एसपी सावाले २९ हजार मत ल्याउदा कांग्रेसका देउमान थेवे दोस्रो भएका थिए । प्रहरीमा औसत क्षमता रहेका शम्भू रास्वपाको लहरमा चुनावमा होमिएका थिए । उनी रास्वपामा रवि लामिछाने निकट रहेका छन् । लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन् ।
रवि आफै प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहेपनि अदालती प्रकृया उनका लागि बाधक बनेकाले बाध्य भएर बालेनलाई अघि सारेमा रविले किन झापा लैजादैछन् ? भन्ने प्रश्न उठिरहेको छ । यो बीचमा रविले महान्याधिवक्ताको कार्यालय मार्फत आफ्नो मुद्धा फिर्ता गराएर आफै प्रधानमन्त्रीको रुपमा अघि बढ्ने कोसिस पनि गरिरहेका छन् । उनको मुद्धा फिर्ताबारे सर्वोच्च अदालतमा रिट परेको छ ।
झापाबाट दुई साताअघि ढकालको टोली काठमाडौं आएसँगै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा बालेनले उम्मेदवार बन्ने संकेत गरेका थिए । चुनाव लड्नका लागि उनले माघ ४ गते राजीनामा दिएर जनकपुर हुँदै उनी झापा पुगेका छन् ।
रास्वपाका अध्यक्ष रवि लामिछानेसँगको सहकार्यपछि बालेनलाई पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा समेत प्रस्तुत गरिएको छ । बालेन झापामा कुनै साइनो सम्बन्धका कारण होइन, एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने उद्देश्यले जान लागेका हुन् । काठमाडौं महानगरको मेयर बनेदेखि नै एमाले र ओलीसँग सुमधुर सम्बन्ध नरहेका बालेनको सम्बन्ध ‘जेनजी आन्दोलन’को क्रममा सरकार ढलेसँगै झनै तिक्त बनेको छ ।
झापाबाट चुनाव लड्न चाहेका बालेनलाई सोचेजति सहज भने छैन । भर्खरै मात्र रास्वपामा प्रवेश गरेका बालेनले निर्वाचन तयारीका रूपमा आफ्नो टिम परिचालन गरी एक सर्वेक्षण गराएका छन् । सो सर्वेक्षणमा चुनाव जित्ने सम्भावना देखिएपछि उनी झापा–५ रोज्न पुगेको बताइन्छ ।
झापा–५ ओलीको बलियो निर्वाचन क्षेत्र हो, जहाँ उनले २०६४ सालबाहेक सबै चुनाव जित्दै आएका छन् । विकास निर्माणका ठूला काम र बलियो संगठनका कारण यो क्षेत्र एमालेको किल्लाका रूपमा चिनिन्छ । रास्वपाका स्थानीय नेताहरू भने ‘बालेन आफैं आए ओलीलाई हराउन सकिन्छ’ भन्दै ढुक्क देखिन्छन् । सर्वेक्षणहरूले पनि यस क्षेत्रमा ‘घन्टी’ चिन्हप्रतिको आकर्षण देखाएको बताइन्छ, जसमा बालेन र रविको सहकार्यले थप उत्साह थपेको छ । तर ओलीले राप्रपासँग सहकार्यका लागि यो क्षेत्रमा तालमेल गर्ने संभावना रहेको छ । उस्तै अवस्था आए कांग्रेसले पनि यो क्षेत्रमा कमजोर उम्मेदवार उठाउने र ओली सहयोग गर्नेप्रति बालेनको चासो देखिएको छैन । ओलीले कुनै पनि दलसँग सहकार्यको कुरा गरेका छैनन ।
२०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरेका थिए, जुन नेपाली कांग्रेसका उम्मेदवारभन्दा २८ हजार ५ सय ७६ मत बढी हो । सोही निर्वाचनमा रास्वपाका उम्मेदवार सुरेश पोखरेलले ११ हजार ७ सय ५९ मत प्राप्त गरेका थिए । झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १–८ तथा गौरीगन्ज गाउँपालिकाका वडा ३–६ समेटिएका छन् । स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राप्रपा र कांग्रेसको चुनावी तालमेलबाट राप्रपाका राम थापा ५५९ मत अन्तरले विजयी भएका थिए ।
कमल गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनले एमालेलाई पराजित गरेको थियो भने गौरादह एमालेको पकड रहेको क्षेत्र हो । गौरीगन्जमा भने एमाले पराजित भएको थियो । यी स्थानीय तहमा एमालेविरुद्ध कांग्रेस, माओवादी र राप्रपासमेतको तालमेल बनेका कारण एमालेको हार भएको देखिन्छ । पालिका मात्र होइन, वडागत मत परिणाम हेर्दा पनि एमाले सो क्षेत्रमा बलियो शक्तिका रूपमा देखिन्छ । कुल २९ वटा वडामध्ये १८ वडामा एमालेले एकल जित निकालेको छ भने बाँकी ११ वडामा कांग्रेस, माओवादी, राप्रपा, नेकपा (एस) र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
ओलीले पाएको ५२ हजार ३ सय १९ मतको तुलनामा केही कम भए पनी स्थानीय तहमा एमालेका वडाध्यक्षहरूले पाएको कुल मत ४२ हजार ४ सय १९ रहेको छ । अन्य दलहरूको तालमेल र एमाले एक्लै चुनाव लड्दा प्राप्त परिणाम हेर्दा पनि एमाले अन्य दलभन्दा अगाडि देखिन्छ ।
ओलीले प्रतिनिधि सभामा पाएको मत र स्थानीय तहमा एमाले उम्मेदवारहरूले पाएको मतले पनि यो क्षेत्रमा एमालेको बलियो पकड पुष्टि गर्छ । यस क्षेत्रमा अघिल्लो निर्वाचनको तुलनामा ९ हजार ९० नयाँ मतदाता थपिएका छन् ।फागुन २१ गते हुने निर्वाचनमा सबै दलले आ–आफ्ना उम्मेदवार उठाएमा एमाले अध्यक्ष ओलीले सहज जित निकाल्ने सम्भावना देखिन्छ । तर बालेन उम्मेदवार बनेर राप्रपा वा अन्य दलको सहयोग पाएमा निर्वाचन प्रतिस्पर्धात्मक बन्न सक्ने अनुमान गरिएको छ । तर झापाले पूर्वी पहाड बाहेक आगन्तुक उम्मेदवारलाई सहज बनाएको परिस्थिति छैन ।











