
काठमाडौं । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफुले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली राष्ट्रपति र संसद्को विधान समितिले स्वीकार नगरेकाले आफु निर्वाचनमा गएको उनले बताएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरे ।
‘शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,’ उनले भनेका छन् ।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ । उनले भनेका छन्, ‘छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’
त्यसपछि शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ । पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने बताएका छन् ।











