Logo
Logo

मन्त्रीहरू चुनावी मैदानमा, प्रधानमन्त्रीलाई कार्यभारको चाङ


441
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मन्त्रिपरिषद्का सदस्यहरू चुनावी मैदानमा उत्रिएपछि प्रधानमन्त्री सुशीला कार्कीको कार्यभार थपिएको छ ।

निर्वाचनमा उम्मेदवारी दिनका लागि तीनजना मन्त्रीहरूले पदबाट राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त रहेका मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई नै तोकेका हुन् ।

यससँगै अब प्रधानमन्त्रीले अतिरिक्त शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको कार्यभार समेत सम्हाल्नुपर्नेछ ।

यसरी पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने मन्त्रीहरूमा महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता रहेका छन् । पूर्व शिक्षामन्त्री पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने सञ्चारमन्त्री खरेल र खेलकुदमन्त्री गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट क्रमशः ललितपुर २ र सिराहा १ मा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

यसअघि नै ऊर्जामन्त्री कुलमान घिसिङले पनि उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौँ ३ मा चुनाव लड्नका लागि पद त्याग गरिसकेका थिए । हाल अर्थ मन्त्रालयको कमान रामेश्वर खनालले सम्हालिरहेका छन् भने ओम प्रकाश अर्याल गृहमन्त्री र बालानन्द शर्मा परराष्ट्रमन्त्रीका रूपमा कार्यरत छन् ।

त्यस्तै, अनिल कुमार सिन्हाले कानुन, उद्योग र पर्यटन मन्त्रालयको संयुक्त जिम्मेवारी सम्हालिरहँदा मदन परियार, सुधा शर्मा, कुमार इङ्नाम, राजेन्द्र सिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठले आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् ।
निर्वाचनको यस संक्रमणकालीन समयमा प्रधानमन्त्री कार्कीले थपिएका मन्त्रालयमार्फत सरकारको दैनिक कार्यसम्पादनलाई अघि बढाउनुपर्ने चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्