Logo
Logo

अपराध नियन्त्रण र निर्वाचन सुरक्षामा निर्मम बन्न आईजीपीको निर्देशन


504
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उनले प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना सङ्कलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी अझ क्रियाशील भई कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि कार्यस्थलमा खटिने कर्मचारीलाई परिस्थितिअनुरुप आफूलाई ढाल्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्