Logo
Logo

सरकार कहिल्यै कर्तव्यबाट बिमुख हुँदैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ कार्तिक । यस वर्ष प्रधानमन्त्री निवासमा दसैंको टीका नहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएका हुन् ।
शुक्रबार देसवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो वर्ष निवासमा दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएको जानकारी दिएका हुन् । ‘यसपालिको वडा दसैं हामी जो जहाँ छौँ त्यही बसेर सबैले मनाऔँ’, प्रधानमन्त्री ओलीले भने, ‘संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखेर प्रधानमन्त्री निवासमा सार्वजनिक टीका कार्यक्रम नराख्न निर्देशन दिइसकेको छु ।’
यस्तै, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको उपचारको विषयमा अनावश्यक अफवाहाका पछाडि नलाग्न आग्रह गरेका छन् । निजी अस्पतालमा कतिपयले आफ्नै खर्चमा उपचार गराइरहेको भन्दै ओलीले नसक्ने अवस्थामा राज्यले निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाए ।
महामारीविरुद्धको लडाईंमा पक्ष र विपक्षको स्वार्थ र चुनावको अस्तको रुपमा प्रयोग गर्नु नहुने उनको भनाइ छ । उनले सरकार कहिल्यै पनि कर्तव्यबाट बिमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर रहेको बताएका छन् । ओलीले वडादसैंको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका छन् । ओलीले संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बिरामीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्