काठमाडौं । काठमाडौंको मेयरमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका बालेन्द्र साह ‘बालेन’ तबला लिएर फर्केका थिए । ओलीलाई दोस्रो पटक २०७९ असार २९ गते बालकोटमा भेटेका बालेन अब झापा ५ मा ओलीसँग आमुन्ने सामुन्ने भएका छन् । झापा मात्र होइन, यतिबेला मुलुकको ध्यान बालेनतिर तानिएको छ ।

कोशी प्रदेशको सामान्य भ्रमणमा निस्केका बालेन जहाँ गए पनि त्यही भीड लागेको प्रचार गरिएको छ । धेरै नबोल्ने बालेनलाई हेर्न आउनेहरुको भीड नेपालगञ्जमा पनि उत्तिकै छ । प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेन देशव्यापी रुपमा चुनावी माहोल बनाउन देश दौडाहा गर्दैछन् ।
कोशीपछि उनको टार्गेट सुदुरपश्चिम रहेको छ । उनी जहाँ गएपनि चुनावी माहोल भने झापा ५ मा देखिएको छ । यतिबेला प्रधानमन्त्री दावी गर्ने दुई अनुहार ओली काठमाडौंमा छन् भने बालेन पश्चिमको यात्रामा निस्किएका छन् । उनीहरू पब्लिक डिबेटको विषयमा समेत एकअर्कालाई छेडखानी गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा बहाल रहँदा बालेनको सबैभन्दा ठुलो टसल नेकपा एमालेसँग थियो । त्यसरी टसल हुँदा बालेनले पटक–पटक एमाले अध्यक्ष ओलीमाथि सामाजिक सञ्जालमा तिखो व्यंग्यबाण चलाइरहेका छन् । ओलीले पनि सार्वजनिक मञ्चबाटै बालेनप्रति आक्रोश पोखिरहेका छन् । यसबाट ओली आत्तिएको संकेत गरेको छ ।
बालेनले सामाजिक सञ्जालमार्फत ओलीमाथि गम्भीर आरोप लगाएका छन् भने ओलीसँग सार्वजनिक बहसमा नबस्ने घोषणा पनि गरे । ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफै २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौंला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ बालेनले ओलीलाई सामाजिक सञ्जालमा जवाफ दिँदै भनेका छन् ।
अहिले ओली–बालेनको त्यो वाक युद्ध अब चुनावी मैदानमै पुगेको छ । बालेन रास्वपा प्रवेश गरेर ओलीको परम्परागत चुनावी क्षेत्र झापा–५मा धावा बोल्न पुगेपछि बालेनलाई म आफै डेरा खोजिदिन्थे नि भनेर ओलीले कमजोर आँकलन गरेका छन् ।
वैकल्पिक भनिएका दल र शक्तिको ध्रुवीकरण गरेर रास्वपाले आगामी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेको अवस्थामा ओलीले बालेनलाई कमजोर आँकलन गरिरहेका छन् । पुरानो भनिएका दलका मुख्य नेता ओली र नयाँ भनिएका शक्तिका मुख्य नेता बालेनबिचको यो चुनावी ब्याटल फागुन २१ को निर्वाचनको सबैभन्दा रोचक अवस्थामा पुग्ने भएको छ ।
ओलीको चुनावी गढमा सम्भवतः बालेनले देखेको सम्भावना २०७९ को निर्वाचनले देखाएको ‘स्वीङ भोट’को हो । त्यसमा ओलीप्रति देखिएको जनमानसको आक्रोसपनि थपिएको छ । ‘झापा ५ मा ‘स्वीङ भोट’बारे ओली र बालेन दुवैको कसरत रहेको छ, ओलीले आफ्ना सबै प्रकारको टिमलाई झापा उतारिसकेका छन् ।
मुलतः झापाका पाँचवटै निर्वाचन क्षेत्र अहिले व्यस्त रहेको छ । झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन् । ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारले ओलीकै भोट काट्ने आकलन गरिएको छ । यसले पनि ओलीलाई थप कमजोर बनाउने देखिन्छ । त्यसमाथि नेकपा र कांग्रेसले पनि ओलीकै मत काट्ने भएकाले यसपटकको निर्वाचन ओलीलाई सकस बनेको छ ।
देशभर सबैभन्दा बढी चासो र चर्चा रहेको निर्वाचन क्षेत्र पनि झापा जिल्लामै छ । झापा ५ यसपटकको निर्वाचनको ‘इपिसेन्टर’ नै मानिएको छ । लामो समयदेखि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली लड्दै आएका छन् ।
झापा ५ मा ओली–बालेनको यो टक्करलाई देशभित्र र देशबाहिर ठुलो जमातले रुचिपूर्वक हेरेका छन । यहीकारण यहाँको माहोल दिनप्रतिदिन तात्दै गएको छ ।
ओली–बालेनसहित झापा–५ को ब्याटलग्राउन्डमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५ जना जना दलीय र ९ जना स्वतन्त्र उम्मेदवार छन । यो क्षेत्रमा नेपाली कांग्रेसले मन्धरा चिमरियालाई उठाएको छ भने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन् ।
यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीका सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीका समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चिन्ह) अमृत रसाइली, पिपुल फस्र्ट पार्टीका धर्मराज गुरागाईँ दलीय उम्मेदवार छन् । यस्तै अर्जुन सापकोटा, खेमनाथ सिवाकोटी, डम्बर शाहु, पुस्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाईँ र शोभा भण्डारी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।
यो क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मत प्राप्त गर्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए । अबको निर्वाचनमा ओलीको मतमा ठूलो गिरावट आउने छ । यो निर्वाचन ओलीको दमनले निम्त्याएको हुँदा जेनजी पुस्ता पूरै ओलीविरुद्ध खनिएका छन् ।
यही हिसाबकिताब गरेरै बालेनले झापा–५ रोजेका हुन् । ओलीको पराजय नै जेनजी विद्रोहको विजय हुने भएकोले पनि झापा ५का युवापुस्ता निर्वाचनमा उत्साही देखिएका छन् । ०७९ सालको निर्वाचनमा ओलीको जुन ‘क्रेज’ थियो, त्यो अहिले छैन । त्यतिबेला ओलीले राप्रपासँग सहकार्य गरेकोले पनि यति धेरै मत आएको बताइन्छ । यसपटक राप्रपासँग सहकार्य नभए पनि राजनीतिका चतुर खेलाडी ओलीले काठमाडौं ५ मा कमल थापालाई सघाएर ईश्वर पोखरेललाई हराउन सक्ने स्रोतहरुले बताएका छन् ।











