Logo
Logo

डिएसपीलाई मिसनभन्दा गुल्म प्यारो !


7.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा मिसनभन्दा पनि बढी कमाई हुने ठाउँ कहाँ हो भनेर सोध्यो भने त्यो हुम्ला हो भनिन्छ । हुम्ला गएको सशस्त्र प्रहरीलाई मिसनमा पठाइदियो भने ऊ रिसाउँछ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत मंसिर २६ गते संगठनबाट युनाइटेड नेसन मिसन इन साउथ सुडान (यूएन मिसन) मा आगामी बैशाखमा जाने आफ्ना कर्मचारीहरूको १ सय ७८ जनाको प्रारम्भिक सूची सार्वजनिक गर्दा हुम्लाका एक डिएसपीले चित्त दुखाएका थिए ।

त्यसमा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को नाम आउदा हुम्ला डिएसपी कविन्द्र महर्जनले चित्त दुखाएका थिए । एफपीयूको रूपमा कार्यरत १२औँ टोलीको बदलीका लागि खटिई जाने सशस्त्र प्रहरी कर्मचारीहरूको ‘सशस्त्र प्रहरी बलमा यूएन एफपीयू मिसन छनोट (दोस्रो संशोधन) निर्देशिका, २०७३’ बमोजिम परिशिष्ट ‘क’ र परिशिष्ट ‘ख’ अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो । छनौटमा परेका ७ जना डीएसपीमध्ये हुम्ला, मुस्ताङ, खोटाङ र पाँचथरका गुल्मपति पनि छन् । उनीहरूसहित सबै जना अहिले ककनीस्थित यूएन तालिममा तीन महिने तालिम गरिरहेका छन् ।

तर आफूलाई यूएन मिसनमा पारिएको भन्दै नम्बर ४४ गुल्म हुम्लाका तत्कालीन गुल्मपति कवीन्द्र महर्जनले साथीभाइ, सहकर्मीमाझ चित्त दुखाएका थिए । उनले आफूलाई यूएन मिसनमा अहिले नपठाउन आग्रह गरेको भएपनि नेतृत्वले मापदण्ड अनुसार छनौट भएको भन्दै पेलेको थियो ।

गत साउनदेखि कर्णाली प्रदेशको विकट पहाडी÷हिमाली जिल्ला हुम्लाको गुल्मपतिको जिम्मेवारी सम्हालेका महर्जन ‘सिनियर’ भएका कारण यूएन मिसनमा छनौट भएको मूख्यालयको दावी छ । तर उनले अहिले मिसनमा जान नचाहेको चाहि हुम्लाको गुल्मपतिको एक बर्से कार्यकाल पूरा गर्नु थियो ।

‘उनले हुम्लामा कार्यकाल पनि विताउने, मिसन पनि जान खोजेपछि नेतृत्वले एक ठाउँ रोज्न आग्रह गरेको थियो’, स्रोतले भन्यो । हुम्लाको गुल्ममा सशस्त्र प्रहरीको आर्थिक प्रशासन महाशाखाले व्यापक बजेट छुट्याएको छ । सोही बजेटको लोभमा उनले अहिले मिसनमा नजाने भनेका थिए । आर्थिक प्रशासनले धेरै बजेट छुट्याएपछि अर्को डिएसपीलाई पठाउने तयारी गरिसकेको थियो । ‘हुम्लामा छुट्याइएको बजेट अर्को डिएसपीको कमाण्डका लागि थियो, कविन्द्रका लागि थिएन’, स्रोतले भन्यो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाले सो गुल्ममा बजेट र रासनबाट त्यहाँको गुल्मपतिको मासिक कमाइ नै ६देखि७ लाख रुपैयाँ भन्दा बढी हुने गरेको छ । तर, मिसनको एक वर्षको कमाई ३० लाख रुपैयाँभन्दा पनि हुँदैन । त्यसो त आर्थिक संकटका कारण यूएनले समेत मिसनमा खटिनेको दैनिक भत्ता नै घटाउँदै गरेको अवस्था छ ।

हाल ककनीस्थित यूएन तालिम केन्द्रमा तालिम गरिरहेका डीएसपी महर्जन अबको केही सातापछि २१ दिने तालिम गर्न इटाली जाँदैछन् । उनले नेपाल र इटाली गरी तीन महिने तालिम समापन गर्नेछन् । डीएसपी महर्जनलाई अहिले यूएन मिसनमा पठाउनुको अर्को कारण पनि छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत पुस १३ गते गरेको ११ जना डीएसपीको सरुवाले उनलाई अहिले नै किन यूएन मिसनमा पठाइँदै छ भन्ने पुष्टि गर्छ ।

पुस १३ गते गरिएको सरुवा सूचीअनुसार, डीएसपी महर्जनलाई नम्बर ४४ गुल्म हे.क्वा. हुम्लाबाट नम्बर ६ गण हे.क्वा.सप्तरीमा पठाइएको छ । ४४ नम्बर गुल्म हुम्लामा भने मानवस्रोत विभागको दरबन्दीमा रहेर साढे ३ वर्षदेखि कर्मचारी प्रशासन शाखा हाँक्दै आएका डीएसपी नन्दबहादुर साउदलाई सरुवा गरिएको छ ।

उनलाई त्यहाँ पठाउन सशस्त्रै अर्का शक्तिशाली तत्कालिन एसपी पूर्ण साउदको हात रहेको बताइन्छ । साउदले हाल अवकाश पाइसकेका छन् । उनी अवकाशमा रहेपनि त्यहाँभित्र पहुँच राख्ने गर्छन । लेखा, कानुन लगायतका समूहमा साउदको पहुँच कायमै रहेको छ ।

साढे ३ वर्षदेखि कर्मचारी प्रशासन शाखाको जिम्मेवारीमा रहेका साउदको ‘व्यवस्थापन’ कै लागि डीएसपी महर्जनलाई यूएन मिसनमा पठाइएको स्रोतको दावी छ । उनीहरुको सरुवा माघ १ गतेबाट लागु भैसकेको छ । माघ ९को एपीएफ दिवस पछि उनी हुम्ला जाने कार्यक्रम रहेको भएपनि केही ढिला हुने स्रोतको दावी छ ।

‘कर्मचारी प्रशासनले गर्नुपर्ने केही काम बाँकी रहेकाले डिएसपी साउद को दिन मूख्यालयमा बस्नेछन् माघको अन्तिम सातामात्रै हुम्ला जानेछन्, आइजीपी सचिवालयमा रहेका अन्य डिएसपीहरुको पनि सरुवा भएको छ, उनीहरुपनि केही समयपछि मात्रै फिल्डमा जानेछन्’, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्