काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ उदाएका राजनीतिक शक्तिप्रति कडा टिप्पणी गर्दै ‘घण्टी बजाएको भरमा राजनीति नचल्ने’ बताएका छन् ।

तीन वर्षअघि बालेन शाह र हर्क साम्पाङलाई ‘लोकतान्त्रिक गणतन्त्रको बगैंचामा फुलेका सुन्दर फूल’को संज्ञा दिएका प्रचण्डले अहिले भने आफ्नो धारणा बदलेका छन् । २०७९ जेठमा संसद्मा बालेनको खुलेर प्रशंसा गरेका प्रचण्डले मंगलबार भने नयाँ राजनीतिक शक्तिहरू स्टन्ट र सामाजिक सञ्जालको भरमा मात्रै लोकप्रिय हुँदै गएको आरोप लगाए ।
चुरे भावर पार्टीलाई आफू संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा समायोजन गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले बालेन र हर्क साम्पाङको नाम नलिइकनै ‘घण्टी बजाएर, सामाजिक सञ्जालमा लेखेर मात्र केही नहुने’ टिप्पणी गरे । उनले यस्ता शक्तिलाई अघि बढाउन देशी-विदेशी शक्तिको ठूलो लगानी रहेको दाबी पनि गरे ।
‘इतिहास, विचार र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने आवश्यकता छ,’ प्रचण्डले भने, ‘नत्र स्टन्ट गरेकै भरमा लोकप्रिय हुने प्रवृत्ति बढ्दै गएको छ, र त्यस्तालाई नै प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेका छन् ।’
उनले हालको राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत जनताको मनोविज्ञान प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाए । ‘घण्टी बजाएर मात्रै समाधान आउनेवाला छैन,’ उनले थपे, ‘अब वैचारिक आन्दोलनलाई अझ सशक्त रूपमा संगठित गर्नुपर्छ ।’











