काठमाडौं । काठमाडौं महानगरपालिकाले पुतलीसडक-बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डमा पर्ने टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ।

महानगरका अनुसार ५७ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त बक्स कल्भर्टको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भइसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका सब-इन्जिनियर दीपकबहादुर शाहीका अनुसार बर्खायाममा पानीको बहाव अवरुद्ध भई डुबानको जोखिम बढ्ने भएकाले समस्या समाधानका लागि कल्भर्ट निर्माण गर्न लागिएको हो ।
कल्भर्ट निर्माण सुरु भएपछि सो सडक खण्डमा आवागमन पूर्णरूपमा बन्द गरिनेछ । वैकल्पिक मार्ग व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिएको छ । दुवैतर्फबाट आउने सवारीसाधनले कमलादी मोड, कमलादी गणेश मन्दिर हुँदै घण्टाघरतर्फको सडक प्रयोग गर्न सक्नेछन् । यो सडक खण्ड करिब दुई महिनासम्म बन्द रहनेछ ।
यस्तै, बबरमहलस्थित धोबीखोला नदी खण्डमा पर्ने रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण गरिने भएको छ। २ करोड २१ लाख रुपैयाँ लागतमा हुने यस आयोजनाको काम आउँदो पुस मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरले जनाएको छ ।











