बागलुङ । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको छ ।

गए राति करिब ४ बजेदेखि परेको हिमपातले बागलुङ-पूर्वी रुकुम सिमानाको पातीहाल्ने क्षेत्रमा सवारी आवागमन ठप्प भएको थियो ।
रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपालतर्फ गइरहेका यात्रुलाई सुरक्षाकर्मीको गाडी प्रयोग गरी उद्धार गरिएको हो । उद्धार गरिएका यात्रुलाई रुकुमकोटसम्म पु¥याई गन्तव्यतर्फ पठाइने उनले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयोगमा केही स्थानको हिउँ हटाइए पनि पातीहाल्ने क्षेत्रमा अत्यधिक हिमपात भएकाले तत्काल सवारी सञ्चालन सम्भव नभएको प्रशासनको भनाइ छ । बागलुङ र काठमाडौँ प्रशासनसँग समन्वय गरी केही दिन उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ ।
हिउँ नपग्लिदासम्म रुकुम हुँदै काठमाडौँ र पोखरा जाने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने जनाइएको छ । बागलुङ खण्डमा दुई फिटभन्दा बढी हिउँ जमेकाले सडक खुलाउन निसीखोला गाउँपालिकासँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए ।











