Logo
Logo

नेपाल प्रहरीलाई सफलताः मोष्ट वान्टेड अभियुक्तलाई इन्टरपोलले जारी गर्याे रेड नोटिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं,८ कात्तिक
वन्यजन्तुसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीले अर्काे महत्वपूर्ण सफलता पाएको छ । १५ वर्षपछि फरार रहेका एक मोष्ट वान्टेडलाई अन्र्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । हाल विदेशमा रहेका निटुप लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो ।

लामा नेपालमार्फत संगठित रुपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने गिरोहका मुख्य सदस्य भएको प्रहरी दाबी छ । उनको बारेमा विस्तृत विवरण संकलन गर्न नसक्दा रेड नोटिस जारी हुन सकेको थिएन । उनको समुहका कुन्जोक छिरिङ तामाङ गत असारमा पक्राउ परेपछि प्रहरीले निटुपको बारेमा थप सूचना संकलन गर्न सफल भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनको बारेमा विस्तृत विवरण संकलन गरी पक्राउ पूर्जी जारी गराएर इन्टरपोलमा रेड नोटिसका लागि सिफारिस गरेको थियो ।

चिनियाँ मुलका लामाले आफु गोरखाको छाकाम्पारको बासिन्दा भन्दै नागरिकता लिएका थिए । ६१ वर्षिय लामा ग्याल्छेन, ङोडुप जस्ता नामले कारोबारीबीच चिनिन्थे । विगतमा उनको नागरिकता नम्बर लगाउतका विवरण प्रहरीले पत्ता लगाउन सकेको थिएन । गत असारमा पक्राउ परेका सोही गिरोहका नाइके कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको बारेमा थप खुलेको र रेड नोटिसमा राख्न सफल भइएको सिआईबीका एक अधिकारीले बताए ।

२०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यसबेला रसुवाको स्याफ्रुबेंशीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँच जना पक्राउ परेका थिए । नेपाली सेनाको चेकिङमा उनीहरु पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो ।

त्यीबेला पक्राउ परेका युवाकै बयानका आधारमा त्यसमा कुन्जोक तथा निटुपको संलग्नता खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । रेड नोटिसमा राखेपछि विदेशबाट पनि उनलाई पक्राउ गरी ल्याउन सहज हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्