काठमाडौं । गोरखाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ । बिहानदेखि परेको हिमपातले लाप्राकलगायतका बस्ती सेताम्मे बनेका छन् ।

चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गतका दुई दर्जनभन्दा बढी गाउँबस्तीमा हिमपात भएको छ । विशेषगरी धार्चे गाउँपालिका-लाप्राकस्थित गुप्सीपाखा र सिङ्लामा तीन वर्षपछि हिउँ परेको हो ।
हिमपातसँगै उत्तरी गोरखाका लाप्राक र गुप्सीपाखामा हिउँ खेल्न मानिसहरूको चहलपहल बढेको छ । २०७२ सालको गोरखा भूकम्पपछि गैरआवासीय नेपाली संघ एनआरएनएले गुप्सीपाखामा करिब ६ सय वटा एकै नमुनाका घर निर्माण गरेको थियो । हिमपातपछि यो बस्ती अझ आकर्षक देखिने भएकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । गुप्सीपाखा समुद्री सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित छ ।
भारी हिमपातका कारण भेडा, च्याङ्ग्रा, चौरी, खच्चड तथा घोडा पाल्ने कृषकहरू समस्यामा परेका छन् । धारामा पानी जम्दा पिउने पानीको समेत समस्या देखिएको छ । तर, हिमपातले गहुँ, जौ, आलु, फापरलगायतका बालीका लागि राम्रो हुने अपेक्षासहित किसानहरू भने खुसी छन् ।











