काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनादेखि शृंखलाबद्ध लुटपाट मच्चाउने एउटा ठुलो गिरोहलाई प्रहरीले ९ घण्टा लामो अपरेसनपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीमा गोली प्रहार गरी गिरोहका मुख्य योजनाकारसहित १० जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी अनुसन्धानका अनुसार यो गिरोहका मुख्य नाइके काभ्रे भुम्लुका २३ वर्षीय विनय तामाङ हुन् । तामाङ यसअघि डाँका चोरी मुद्दामा प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए । तर, केही समयअघि भएको ‘जेनजी आन्दोलन’को मौका छोपी उनी हिरासतबाट फरार भएका थिए। फरार भएलगत्तै उनले अन्य आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई समेटेर लुटपाट गर्ने ग्याङ बनाएको खुलेको छ।
यो गिरोहले निकै योजनाबद्ध ढंगले लुटपाट गर्ने गरेको पाइएको छ। प्रहरीका अनुसार दिउँसोको समयमा निजी कार (बा १२ च ७७०१) र ट्याक्सी चढेर उपत्यकाका विभिन्न ठाउँमा लुटपाटका लागि निगरानी गर्ने गरिन्थ्यो।
राति भएपछि ट्याक्सी र कार थन्क्याएर ६ वटा तीव्र गतिका पल्सर मोटरसाइकलमा उनीहरू निस्कन्थे । एउटै मोटरसाइकलमा ३ जनासम्म सवार हुने र नम्बर प्लेट नचिनियोस् भनेर हिलो छ्याप्ने गरेको भेटिएको छ ।
खुकुरीसहित निस्कने यो समूहले सडकमा हिँडिरहेका सर्वसाधारण, विशेषगरी तरकारी बेचेर फर्कने महिला र राति कामबाट फर्कनेहरूलाई निशाना बनाउँथे । लुटपाटको क्रममा कतिपय पीडितको कानै च्यातिएको र गम्भीर चोट लागेको एसएसपी रमेश थापाले बताए ।
कसरी परे पक्राउ ?
बुधबार साँझ ६ बजेदेखि सुरु भएको प्रहरी अपरेसन बिहीबार बिहान ३ बजेसम्म चलेको थियो । मुलपानी क्रिकेट मैदान नजिकैको चेकिङमा प्रहरीलाई नै धक्कामुक्की गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका नाइके तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेमा विनय तामाङ, आयन माझी, सविन माझी, मनिष रमाइली (सुन कालिगढ), पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन् । पक्राउ परेका सबै जना ‘पटके’ अभियुक्त हुन्, जो यसअघि पनि पटक(पटक चोरी र डाँका मुद्दामा जेल बसिसकेका छन्।
यो गिरोहले स्वयम्भू, बौद्ध, कपन, कोटेश्वर र बुढानीलकण्ठ लगायतका २७ ठाउँमा लुटपाट गरेको स्वीकार गरेको छ ।
प्रहरीले उनीहरूका साथबाट लुटिएका सुनका गहना, मोबाइल, नगद र लुटपाटमा प्रयोग भएका ६ वटा मोटरसाइकल, एउटा कार र एउटा ट्याक्सी बरामद गरेको छ। लुटिएका गहना खरिद गर्ने सुन पसलका कालिगढहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।











