Logo
Logo

देउवाले नटेरेपछि मल्ललाई फकाउँदै महर


8k
Shares

काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको निवर्तमान कांग्रेस सभापति शेर बहादुर देउवाको जिल्ला डडेल्धुरामा आगामी फागुन २१ को निर्वाचनका लागि १३ जनाले उम्मेदवारी रहेको छ । देउवाको गृह जिल्ला त्यसमा पनि कांग्रेसको २०४८ साल देखिको विरासत । देउवा चुनाव नलड्नुले यसपटकको निर्वाचनलाई विशेष चासोको रूपमा हेरिएको छ ।

नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेही, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायतले मनोनयन दर्ता गएका छन् । एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ९३ हजार ४०३ मतदाता छन् ।

कांग्रेसलाई डर

२०४८ साल देखि डडेल्धुरामा नेपाली कांग्रेसको विरासत थामेका शेरबहादुर देउवा अन्तिमपटक चुनाव लड्ने चाहाना हुँदा हुँदै चुनावी मैदानबाट बाहिरिए । नेपाली कांग्रेसको विशेष महाधिवेशन नभएको भए देउवा डडेल्धुराबाट निर्वाचन लड्ने निश्चित नै थियो ।

तर, जेनजी आन्दोलन र युवाहरूको मागलाई सम्बोधन गर्दै काँग्रेसले विशेष महाधिवेशन गर्यो । जसले देउवालाई टिकट बाँड्ने र पाउनबाटै वञ्चित गर्यो । 

पाँच पटक प्रधानमन्त्री बनेका देउवालाई यसपटकको निर्वाचनमा विजयी गराएर देउवाको सम्मानपूर्वक बिदाइ गर्ने डडेल्धुराका कांग्रेस नेता तथा कार्यक्रताहरु चाहन्थे । तर, गगन सभापति बनेपछि युवा नेता ननसिंह महरले चुनाव लड्ने अवसर पाए ।

टिकट पाए पनि चुनाव जित्नलाई देउवाको साथ बिना निकै गाह्रो हुने महरले पनि बुझेका छन् । देउवाले यसबिचमा आफूलाई नै कांग्रेसको सभापति भएको बताउँदै आएका छन् । महर गगनबाट टिकट पाए पनि देउवाको साथ खोजीरहेका छन् । यसैबीच महर देउवालाई फकाउन लागेका छन् । तर, शेरबहादुर देउवाले महरलाई भेट्न समेत अस्वीकार गरेका छन् ।

केही दिनअघि महर काठमाडौं पुगेर देउवासँग भेटघाट तथा सहयोगको अपेक्षा राख्न खोजेका थिए । तर, देउवाले उनलाई भेट नदिएका हुन् । भेट्न नपाएपछि महर नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति तथा डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ललाई भेट्न पुगेका थिए । कर्णसँगको भेटमा महरले डडेल्धुरामा चुनावी सहयोगको आग्रह गरेका थिए । मल्लले महरलाई शुभकामना मात्र दिए । उनले चुनावमा सहयोग गर्ने कुनै संकेत नदिएको बताइएको छ । गत निर्वाचनको परिणामले मल्लसँग निर्णायक मत रहेको स्पष्ट देखिन्छ । 

देउवालाई थियो डर

२०७९ को प्रतिनिधिसभा निर्वाचन देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकाले कडा टक्कर दिएका थिए । डडेल्धुराको चुनावी इतिहासमा यो देउवालाई दिएको सबै भन्दा बलियो टक्कर थियो । जहाँ देउवा निर्वाचित त भए तर निर्वाचनको समयमा मात्रै डडेल्धुरा पुगेका सागर कांग्रेसको इलाकामा ‘धावा’ बोलेका थिए । 

स्वतन्त्र उम्मेदवार सागरलाई भोट दिएर त्यहाँका जनताले भोट परिवर्तन गर्ने चाहेको देखाएका थिए । फलस्वरुप सागरले १३०४२ मत ल्याए । देउवाले २५५३४ मत ल्याएका थिए । देउवाको साथ छाडेका मल्लले ७५३४ मत ल्याएका थिए । 

स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने कांग्रेस बलियो देखिन्छ । ७ स्थानीय तहहरूमा ५ मा काँग्रेसले जितेको थियो । २ स्थानीय तहमा माओवादीले जितेको छ । स्थानीयतह र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ अनुहारलाई भोटरले साथ दिने कुरा देउवालाई राम्रोसँग थाहा थियो । स्थानीय तहमा राम्रो पकड भएको कांग्रेसलाई प्रदेशसभाको निर्वाचनबाटै केही डर भने पैदा भएको थियो । 

प्रदेश सभाको निर्वाचनमा ‘क’ बाट खग राज भट्ट र ‘ख’ बाट तारा प्रसाद जोशी । विजयी भएका  थिए । भट्टले १२१२ र जोशीले १११६२ मत ल्याएका थिए । प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र र नेपाली कांग्रेबीच चुनावी गठबन्धन भएको थियो । गठबन्धन नगरेको भए एमालेको जित निश्चित थियो ।

एमाले उम्मेदवार पठान सिं बोहोराले ९१९५ भोट ल्याएका थिए । प्रदेश सभा ‘ख’अन्तर्गत स्वतन्त्र उम्मेदवार जोशी विजयी हुँदा कांग्रेसको दोस्रो स्थानमा रहेको थियो । कांग्रेस उम्मेदवार गोवीन्द राज बोहोराले १०७३७ मत ल्याएका थिए । तीनै जोशीलाई अहिले रास्वपाले उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा नेता फेर्ने छनक दिएका डडेल्धुरावासीलाई यसपटक रास्वपाको चुनावी माहोलले तान्ने देखिएको छ । जसरी ढकालले एक्ले निर्वाचन हुमिएर सम्मानजनक भोट ल्याएका थिए । त्यो भोटलाई अहिले रास्वपाले संस्थागत मतमा ढाल्न सके जोशी र महर दुवै बलिया उम्मेदवार बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्