Logo
Logo

युवा पलायनको भीडमा उद्यम रोज्ने साहसी निलिमा


0
Shares

–निलिमा चौलागाई, सञ्चालक, गर्भ नेपाल
भक्तपुर विरुवाकी २३ वर्षीय निलिमा चौलागाईले स्नातक पढदै गर्दा चार वर्षअघि परिवारले खाजा खान दिएको पैसा बचाएर सिलाइबुनाइको तालिम लिइन् । सीप सिकेपछि उनले सुत्केरी महिला, गर्भवती महिला र नवजात शिशुुको लागि मलमल कटन ढाकालगायतका कपडा बनाउने काम सुरू गरिन् । दुई वर्षको अवधिमै ‘गर्भ नेपाल’ ब्राण्डले धेरै आमाहरूको मन जितिरहेको छ । मास्टर्स गर्दै गरेकी निलिमा सफल महिला उद्यमी बन्दैछिन् । उनी निलिमा चौलागाईसँग रेजिना पाण्डेको जम्काभेट ।

गर्भ नेपालको जन्म कसरी भयो ?
सन् २०२० मा म स्नातक बढ्दै गर्दा मेरो भाइ जन्मियो । ममीले भाइका लागि कपडा किनेर ल्याउन भन्नुभयो । कपडा किन्न जाँदा राम्रो क्वालिटीको भेटिएन । राम्रो क्वालिटीको कपडा सुपथ मुल्यमा पाउन सम्भव नभएपछि धेरै उदास भए । त्यही बेला मेरो मनमा आयो–गर्भवती, सुत्केरी र नवजात शिशुका लागि राम्रो क्यालिटीको कपडा आवश्यक रहेछ । यो काम मैले गर्न सक्छु कि भन्ने सोच दिमागमा आयो । त्यसपछि मैले तालिम लिएर ‘गर्भ नेपाल’ नाम राखेर उत्पादन र बिक्री गरिरहेकी छु । अहिले गर्भ नेपाल ब्राण्ड बनेको छ ।

त्यतिधेरै ग्यापमा भाइ जन्मिदा अप्ठेरो लागेन ?
अहिले म २३ वर्षको भएँ, मेरो भाइ ६ वर्षको छ । हामी दुई दिदीबहिनीपछिको भाइ हो । कसले के भन्छ भन्दा पनि हामी कतिको खुसी छौँ भन्ने कुरा हो । त्यही भाइलाई कपडा खोज्ने क्रममा त्यो घटनाले मलाई महिला उद्यमी बनायो । सायद, भाइ नजन्मेको भए यसरी उद्यमी बन्ने थिइनँ होला । र, क्वालिटीको कपडा सुुलभ मूल्यमा पाएर अहिले धेरै खुसी छन् ।

उद्यम सुरू गर्नुअघि कति महिनाको तालिम लिनु भयो ?
मैले तीन महिनाको तालिम लिएर गर्भ नेपाल सुरू गरेकी हुँ । अहिले म आफै कपडाको डिजाइन गर्छु, कटिङ गर्छु । चारजना स्टाफ हुनुहुन्छ । केहीलाई काम पनि सिकाइरहेकी छु ।

गर्भ नेपाल ब्राण्ड बन्दा कस्तो महसुस भयो ?
म एकदमै खुसी छु । ग्राहकले हाम्रो कपडा दोहो¥याइ, तेहे¥याई अर्डर गर्नुहुन्छ । एकदम राम्रो छ, सस्तो पनि छ भन्नुहुन्छ । त्यसले हामीलाई काम गर्न हौसला मिलेको छ ।

मार्केट कहाँ कहाँ छ ?
नेपालभित्रबाट मात्रै होइन, विदेशबाट पनि अर्डर आइरहेका छन् । अमेरिका, अष्ट्रेलिया, जापान, बेलायतलगायतका देशहरूबाट पनि अर्डर आइरहेको हुन्छ । दैनिकजस्तो २०÷२५ वटा डेलिभरी गर्नुपर्ने हुन्छ । कामको चापले भ्याइनभ्याइ नै छ ।

कति लगानीमा काम सुरू गर्नुभयो ?
सुरूमा घरैबाट ४ हजारमा काम थालेको हुँ । अहिले महिनामा ५०÷६० हजारको काम हुन्छ । दुई वर्षदेखि म अनलाइनमार्फत नै काम गर्दै आएको छु । अहिले पनि अनलाइन अर्डर नै लिन्छु । म आइटीको विद्यार्थी भएकोले पनि अनलाइन काम गर्न सजिलो भएको छ । कपडा बनाउने काम पनि घरमै हुन्छ । अब चाहिँ एउटा पसल पनि खोल्ने योजना बनाएकी छु ।

सुरूमा यो काम थाल्दा परिवारबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
म आईटी पढिरहेको थिएँ । घरबाट ‘कामभन्दा पढाइमा ध्यान देउ, यस्तो काममा हात हालेर समय खेर नफाल’ भन्नुभएको थियो । पछि गाह्रो पर्छ नि भन्ने कुरा पनि आएको थियो । मैले काम अघि बढाउदै जाँदा घरपरिवारको राम्रो साथ पाएँ । अहिले पनि काम गर्न उत्साहित बनाइरहनुभएको छ ।

तपाईं प्रायः कस्तो कपडा डिजाइन गर्नुहुन्छ ?
मैलै नेपालीपन झल्कने ढाका, मलमल, कटनको कपडाको डिजाइन गर्छु । नवजात शिशुदेखि गर्भवती र सुत्केरीका कपडा सिलाउँछु । दौरा सेट, खास्टो ग्राउन, म्याक्सीका साथै डस्ना, सिरक पनि बनाउँछु ।

सानै उमेरमा सफलता पाउदा कस्तो लाग्छ ?
धेरै खुसी लाग्छ, तर पाउनुपर्नेजति सफलता पाइसकेकी छैन । अझ धेरै काम गर्न बाँकी नै छ । म कामलाई निरन्तरता दिदै अझै राम्रो काम गर्ने योजना बनाउँदैछु ।

यो काममा प्रतिष्पर्धा कस्तो छ ?
प्रतिष्पर्धा त हरेक क्षेत्रमा हुन्छ नै । एउटा काम चलेको देखेपछि अरू पनि त्यसमा लाग्छन । कुनै पनि व्यवसायको कपी गर्ने चलन छ । त्यसैले प्रतिष्पर्धा नै छ ।

धैरै युुवाहरू विदेश पलायन भइरहेको बेला तपाईं नेपालमै बसेर व्यवसाय गरिरहनु भएको छ ? कति सहज छ ?
सहजभन्दा पनि रहरले मैलै यो काम थालेकी हुँ । संघर्ष गरेर नै आज गर्भ नेपाल ब्राण्ड बनेको छ । यसलाई बिस्तारै बिस्तार गर्ने योजना छ । विदेश जाने मेरो सोच छैन ।

भविष्यको योजना के छ ?
मेरो काम र गर्भ नेपाललाई विश्वभर चिनाउने योजना छ । शाखाहरू खेल्ने र बढीभन्दा बढी आफ्नो ब्राण्ड फैलाउने योजना छ । एउटा सफल महिला उद्यमी बन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्