काठमाडौं । बाह्रै मास हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम गरेका छन् ।

जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिवार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गरेर कीर्तिमान कायम गरेका हुन् । उनी दौरा९सुरुवाल लगाएर अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक पनि बनेका छन् ।
माइनस २० डिग्री तापक्रममा शनिवार बिहान जोशीले ४२ किमि लामो म्याराथन पूरा गरेका हुन् । अन्टार्टिकाको समयअनुसार बिहान ३ बजे म्याराथन सुरु भएको थियो । हिउँमा दौरा९सुरुवाल लगाएर दौडिनु असम्भव मानिएको यो दौड उनले सहजै पूरा गरेका हुन ।
शनिवार अन्टार्टिकाबाट सुरु भएको वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ को पहिलो शृङ्खलामा ३२ देशका ५६ धावक सहभागी थिए, जसमध्ये जोशी एक हुन् ।
२०१५ मा देखि हरेक वर्ष सञ्चालन हुँदै आएको यो म्याराथन अत्यन्त चुनौतीपूर्ण मानिन्छ । सात उद्देश्यसहित सातै महादेशमा सात दिनसम्म लगातार सञ्चालन हुने यो म्याराथनलाई ७७७ म्याराथन भनिन्छ ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेसाले बैंकर्स हुन् ।











