काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनावका कारण सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान भ्रमणको तयारीमा रहेका नेपालीलाई हाललाई आफ्नो यात्रा स्थगित गर्न अनुरोध गरेको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै इरानको अवस्था सामान्य नहुँदासम्म त्यहाँ भ्रमण गर्ने योजना स्थगित गर्न सल्लाह दिइन्छ । साथै हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म चाँडो इरान छोड्न अनुरोध गरिन्छ ।”
मन्त्रालयले इरानमा रहेका नेपालीलाई पासपोर्ट, परिचयपत्रजस्ता महत्वपूर्ण कागजातहरू सधैँ सहज रूपमा उपलब्ध हुने सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेको छ । त्यस्तै, आवश्यक समन्वय र सहायताका लागि नेपालस्थित परराष्ट्र मन्त्रालय तथा कतारस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।
इरानमा रहेका नेपाली नागरिकको यकिन संख्या भने हालसम्म सार्वजनिक गरिएको छैन ।











