काठमाडौं । सरकारले सिंहदरबारभित्रै नयाँ संसद् हल तयार पार्ने कामलाई तीव्र बनाएको छ । गत भदौ २४ मा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगलागी भएपछि सङ्घीय संसद् बैठक बस्ने ठाउँ सङ्कटमा परेको थियो । अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनबाट चुनिएर आउने सांसदहरूका लागि सिंहदरबारमै वैकल्पिक हल निर्माण भइरहेको छ ।

संसद् सचिवालयले बैठक हलको व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेपछि सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालय सक्रिय भएका छन् । सहरी विकासमन्त्री कुमार इङ्नाम, मुख्य सचिव सुमनराज अर्याललगायत अधिकारीहरूले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरी निर्माण कम्पनीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराम अर्यालका अनुसार ठेकेदार कम्पनी र मन्त्रालयले हल समयमै तयार हुने आश्वासन दिएपछि अन्य विकल्प खोजिएको छैन । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मरासिनीले अबको एक महिनाभित्र प्रतिनिधिसभाको हल तयार गर्ने लक्ष्यसहित दुई शिफ्टमा काम भइरहेको बताए ।
फागुन मसान्तसम्म ४५ दिने कार्ययोजना बनाएर काम अघि बढाइएको छ । संरचनाको काम सम्पन्न भइसकेको छ भने भित्री सजावट, विद्युतीय प्रणाली, वातानुकूलन, फर्निचर र सञ्चार उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधिसभाको हललाई प्राथमिकता दिइए पनि राष्ट्रिय सभाको हल पनि सँगसँगै तयार भइरहेको छ । ९० प्रतिशत काम सकिएको छ । हलमा प्रतिनिधिसभाका २७५ सांसद, राष्ट्रिय सभाका ५९ सदस्यसहित कर्मचारी, पत्रकार र अवलोकनकर्ता अट्ने गरी व्यवस्था गरिएको छ ।
यो हल संयुक्त बैठकका लागि पनि उपयुक्त हुनेछ । संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणाको ३० दिनभित्र संसद् अधिवेशन आह्वान हुनुपर्छ । फागुन २१ को निर्वाचनपछि चैत मसान्त अगावै बैठक बस्ने छ । पुरानो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगलागी र सिंहदरबारको राणाकालीन भवन भूकम्पले क्षतिग्रस्त भएपछि नयाँ भवनलाई प्राथमिकता दिइएको हो । पूर्ण संसद् भवन असारसम्म बन्ने अपेक्षा छ, तर निर्वाचनपछि तत्काल बैठक सञ्चालनका लागि यो अस्थायी हल महत्त्वपूर्ण बन्नेछ ।











