काठमाडौँ । प्रहरी संगठनभित्रैबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको पक्षमा भोट माग्दै हिँडिएको तथ्य बाहिर आएको छ ।

सादा पोसाकमा रहेका प्रहरीले बालेन शाहको पक्षमा मत मागिरहेको देखिने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएपछि निर्वाचन आयोगले यस विषयमा स्पष्टीकरण सोधेको छ । शाहसँग यो दोस्रोपटक स्पष्टीकरण मागिएको हो ।
निर्वाचन आयोगले शाहको चुनावी प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा वास्तविक अवस्था के थियो भन्नेबारे स्पष्टिकरण मागेको जनाएको छ ।
सुरक्षाकर्मी राजनीतिक गतिविधिमा संलग्न हुनु निर्वाचन आचारसंहिताको स्पष्ट उल्लङ्घन हुने भन्दै आयोगले घटनालाई गम्भीर रूपमा लिएको छ ।
नेपालको निर्वाचन कानुन र आचारसंहिताअनुसार प्रहरी, प्रशासन तथा सुरक्षाकर्मीहरू राजनीतिक गतिविधिमा संलग्न हुन पाउँदैनन् । घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी र सम्बन्धित प्रहरी निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।
यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आशंकामा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ ।आयोगका अनुसार शनिबारसम्म २१ जनासँग स्पष्टीकरण सोधिएकोमा आइतबार र सोमबार थप नौ जनासँग स्पष्टीकरण माग गरिएको हो ।
यसैगरी, आयोगले बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हेमराज थापा र सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटालगायतसँग पनि स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म सोधिएका २९ वटा स्पष्टीकरणमध्ये १४ वटाको जवाफ आयोगले प्राप्त गरिसकेको छ ।











