काठमाडौं । भारत र पाकिस्तानबीचको टी-२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने भएको छ । टी-२० विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल नहुँदा करिब २५ करोड अमेरिकी डलर बराबरको क्षति हुने देखिएको हो ।

राजनीतिक तनावका कारण भारत र पाकिस्तान सामान्यतः बहुराष्ट्रिय प्रतियोगितामात्र खेल्ने भएकाले उनीहरूको खेललाई आईसीसी प्रतियोगिताको सबैभन्दा ठूलो व्यावसायिक आकर्षण मानिन्छ । यही कारण आईसीसीले प्रायः दुवै टोलीलाई एउटै समूहमा राख्ने गर्छ ।
आइतबार पाकिस्तान सरकारले फेब्रुअरी १५ मा कोलम्बोमा तय भएको भारतसँगको खेल नखेल्ने निर्णय सार्वजनिक गरेको थियो । यो खेल नहुँदा पाकिस्तानले ठूलो आम्दानी गुमाउनेछ भने आईसीसी र भारतको मिडिया अधिकारधारी जियोस्टार लाई पनि आर्थिक झट्का लाग्नेछ ।
जियोस्टारले आईसीसीसँग गरेको ३ अर्ब डलरको सम्झौता पुनर्विचार गर्ने प्रयाससमेत गरिरहेको वेला यदि खेल नभएका ठुलो आर्थिक टाढा हुने देखिएको हो ।
प्रसारणकर्ताहरूलाई मात्रै २४ देखि ३० मिलियन डलर बराबरको विज्ञापन घाटा हुन सक्ने अनुमान छ । भारत–पाकिस्तान जस्तो चर्चित खेलमा १० सेकेन्डको विज्ञापनको मूल्य ४८ हजार डलरसम्म पर्ने गर्छ ।
यदि खेल भएन भने भारतलाई वाकओभरबाट अङ्क दिइनेछ । तर आईसीसीसँग पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आर्थिक दण्ड लगाउने अधिकार भने रहनेछ ।
आइसिसिको एक खेलकै मूल्य २५ करोड डलर बराबर हुन्छ । भारत–पाकिस्तान खेलको विश्वव्यापी दर्शक सङ्ख्या अर्बभन्दा बढी हुने गर्छन् । आईसीसीले पनि पाकिस्तानको निर्णयप्रति कडा प्रतिक्रिया जनाएको छ । सीमित खेल मात्र खेल्ने निर्णयले विश्व प्रतियोगिताको निष्पक्षता र खेलभावनालाई कमजोर बनाउने आईसीसीले स्पष्ट पार्दै पाकिस्तानलाई आपसी समझदारीमा निर्णय लिन आग्रह गरेको छ ।
यद्यपी विवादका बीच पनि पाकिस्तान टोली प्रतियोगिताका अन्य खेल खेल्न श्रीलङ्काको कोलम्बो पुगिसकेको छ । प्रतियोगिता फेब्रुअरी ७ बाट सुरु हुँदैछ । आइसिसिले भारत–पाकिस्तान खेलका लागि २०२७ सम्म ‘हाइब्रिड मोडल’ अपनाएको छ । यता बङ्गलादेशी बलर मुस्ताफिजुर रहमान लाई बीसीसीआईको निर्देशनमा आईपीएलबाट हटाएपछि भारत र बंगलादेशबीच टकराब हुँदा बङ्गलादेश भारतमा खेल्न नजाने निर्णय गरेको थियो ।
यसपछि आईसीसीले बङ्गलादेशलाई हटाएर स्कटल्यान्डलाई विश्वकपमा समावेश गरेको थियो । जुन कुराको विरोधमा पाकिस्तान बङ्गलादेशको पक्षमा उभिँदै आएको थियो र त्यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँग नखेल्ने जनाएको हो ।











