काठमाडौँ । सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से दुई चरणमा निजीकरण हुने भएको छ ।

पुनर्संरचना अध्ययन समितिको प्रतिवेदनले पहिलो चरणमा कम्तीमा २० वर्षको अनुभव भएको वैदेशिक रणनीतिक साझेदारलाई १५-२५ प्रतिशत सेयर दिने र दोस्रो चरणमा निजी क्षेत्र तथा सर्वसाधारणका लागि सेयर जारी गर्न सुझाव दिएको छ ।
प्रतिवेदनअनुसार सर्वसाधारणका लागि १५ प्रतिशत सेयर आईपीओमार्फत बिक्री गरिनेछ । हाल सरकारको बहुमत स्वामित्व क्रमशः घटाउँदै दोस्रो चरणमा शून्यमा झार्ने सिफारिस गरिएको छ । नेप्सेको चुक्ता पुँजी एक अर्बबाट तीन अर्ब रुपैयाँ पुर्याउन सञ्चित मुनाफाबाट बोनस सेयर जारी गर्ने प्रस्ताव पनि गरिएको छ ।
संस्थागत सुशासन सुधारका लागि सञ्चालक समितिमा स्वतन्त्र विज्ञको सहभागिता बढाउने, सीईओलाई बोर्डबाट अलग राख्ने र नयाँ वित्तीय उपकरण जस्तै डेरिभेटिभ्स, ईटीएफ, इन्ट्रा-डे ट्रेडिङसुरु गर्न सुझाव दिइएको छ । साथै, सिडिएससीको स्वामित्व संरचना परिवर्तन गरी नेप्सेको हिस्सा ५१ प्रतिशतमा सीमित गर्ने प्रस्ताव गरिएको छ ।

यी सुधार लागू भएमा पुँजी बजार अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ हुने समितिको ठहर छ।











