Logo
Logo

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात, भोलिदेखि देशभर मौसम खुल्ने


504
Shares

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण एक हप्तापछि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुनः वर्षा र हिमपात भएको छ ।

The current image has no alternative text. The file name is: Barsha-heavy-rainfall.jpg

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा हिमपात भएको हो ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हुम्लाको सिमिकोट, मनाङको ढिकुरपोखरी माथिल्लो क्षेत्रसहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका अधिकांश हिमाली क्षेत्रमा हिमपात भएको छ । साथै, उच्च पहाडी क्षेत्रका केही स्थानमा वर्षा भएको छ । मध्य र पूर्वी नेपालका केही हिमाली क्षेत्रमा पनि हिमपात भएको जानकारी दिए ।

आज राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसोपछि काठमाडौँ उपत्यकासहित देशका धेरै पहाडी क्षेत्रमा बदली देखिएको छ भने तराई क्षेत्रमा पनि सामान्य बदली रहेको छ । यद्यपि पहाडी र तराई भूभागमा वर्षा नभएको र राति पनि वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले स्पष्ट पारे ।

यसैबीच भोलिदेखि देशभर मौसम खुल्ने अनुमान गरिएको छ । प्रणाली कमजोर भइसकेकाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा घाम लाग्ने र मौसम प्रायः सफा रहने उनले बताउनुभयो । केही स्थानमा आंशिक बदली देखिए पनि त्यसले दिनभर प्रभाव नपार्ने महाशाखाको भनाइ छ ।

प्रणालीको प्रभाव कम हुँदै जाँदा तराई–मधेश क्षेत्रमा लागेको हुस्सु पनि क्रमशः घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्