काठमाडौँ । राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसी र काँक्रेबिहार क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेले । चित्लाङका चेतनकुमार थारू र अरोन थापाले गोल गरे भने काँक्रेबिहारका भरत नागल र सन्दीप देउवाले बराबरी गोल फर्काए ।
यो नतिजासँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । ६ खेल खेलेको चित्लाङ ६ अङ्कसहित तालिकाको ११औँ स्थानमा यथावत् छ । लगातार पाँच खेल हार व्यहोरेको काँक्रेबिहारले भने यस खेलबाट लिगमा पहिलो अङ्क जोड्न सफल भयो । काँक्रेबिहार १६औँ स्थानमा छ।
यस्तै, आजै एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई २-० गोलले पराजित गर्यो। प्लानिङ ब्वाइजका फागुराम थारूले दुवै गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए । यस जितसँगै प्लानिङ ब्वाइज ६ खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्स क्लब भने ६ खेलमा ४ अङ्कसहित १४औँ स्थानमा सीमित छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कूल १७ टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला तथा एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिग विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।











