काठमाडौं । आइसीसी टी-२० विश्वकप आजदेखि सुरु हुँदै छ । मार्च ८ सम्म भारत र श्रीलङ्कामा हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन् ।

टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदै छन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी-२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समूह ए का पाकिस्तान र नेदरल्याण्डसबीच कोलम्बोमा हुँदै छ भने दोस्रो खेल समूह सी का स्कटल्याण्ड र वेस्ट इण्डिजबीच कोलकोतास्थित इडेन गार्डेनमा दिउसो सवा ३ बजेदेखि हुँदै छन् । त्यस्तै आज तेस्रो खेल समूह ए को भारत र अमेरिकाबीच राति सवा ७ बजे मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।
नेपालको सहभागिता:
त्यस्तै नेपालले भने यस अघि २०२४ को विश्वकपमा १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । गत विश्वकपमा नेपालले ४ खेलमा ३ खेलमा हर बेहोरेको थियो भने एक खेलको नतिजा नआउदा अंक बाडेर समूह चरणबाटै बाहिरिएको थियो । नेपाल दक्षिण अफ्रिकासँग केवल १ रनले पराजित भएको थियो बंगलादेशसँग २१ रनले हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकासँगको खेल बर्षाले हुन नसक्दा अंक बाँडेको थियो । नेपालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाउदैछ ।
यस विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदैछ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।
नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
टी-२० विश्वकपका विजेता
भारत टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकपमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकप्को यो दशौँ सिजन हो । यस अघि सम्पन्न नौ विश्वकपमा सबैभन्दा बढी भारत, इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो । त्यस्तै भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो ।
त्यस्तै अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी-२० विश्वकप जितेका छन् । अस्ट्रेलियाले २०२१ मा। श्रीलङ्काले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो । त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन् ।
न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९, २०१४ मा सेमिफाइनल र २०२४ मा फाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् । त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।











