काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको चुनाव अहिले नै प्रतिनिधि सभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको बताएका छन् । सिन्धुली पुगेका संयोजक प्रचण्डले राष्ट्रियसभा चुनावमा कांग्रेससँग मिलेर आफूहरूलाई आउट गरेपछि कुरा नमिलेको बताए।

उनले भने, ‘कांग्रेसका महाधिवेशन हुनुभन्दा अगाडि, राष्ट्रिय सभाका सदस्यको निर्वाचन हुनु अगाडि कुरा हो। यो प्रस्ताव हाम्रो थिएन फेरि, कांग्रेस र एमालेबाट केही शीर्ष नेताहरूको हकमा हामीले उनीहरूलाई चुनाव जिताउने ढङ्गले केही सिट एडजस्ट गर्नुपर्छ भन्ने उहाँहरूको थियो। हामीले त्यसमा सैद्धान्तिक रूपले अस्वीकार पनि हामीले गरेका थिएनौँ, स्वीकार गरेका पनि थिएनौँ।’
उनले राष्ट्रियसभामै प्रयास विफल भएपछि प्रतिनिधिसभाको हकमा अघि बढ्न नसकेको बताए। उनले थपे, ‘हामीले त्यसको सुरुआत राष्ट्रिय सभाका सदस्यको निर्वाचनबाट हुन्छ भनेका थियौँ। तर राष्ट्रिय सभाको चुनावमा फेरि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएर यो देशलाई बर्बाद पार्ने बाटोमै उहाँहरू हिँडेर, नेपाली कम्युनिस्टलाई आउट गर्ने बाटो पक्रिनुभयो उहाँहरूले। तपाईँहरूले बुझ्नुपर्ने कुरा त्यहाँ छ। उही बाटो पक्रिनुभयो, विध्वंसकै बाटो। त्यसो भएपछि समीकरण सबै उहाँहरूले नै सिद्ध्याइदिनुभयो।’











