Logo
Logo

नेपाललाई इतिहास रच्ने अवसर


315
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समूह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ ।

नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फम्र्याटमा खेल्न लागेको यो पहिलो खेल हो । क्रिकेट इतिहासमा यो पहिलो पटक हो कि इङ्ल्यान्ड र नेपाल टी-२० अन्तर्राष्ट्रियमा आमनेसामने हुदै छन् ।

नेपाल एसिया र पूर्वी एसिया प्रशान्त छनोटमा अपराजित रहँदै तेस्रो पटक विश्वकपमा छनौट भएको हो । २०१४ को विश्वकपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो । नेपालले विश्वकपमा अहिलेसम्म दुई खेल मात्र जितेको छ ।

आजको खेलमा नेपाली टिममा दीपेन्द्र सिंह ऐरीको फिल्डिङप्रति सबैको नजर हुने छ । दिपेन्द्र विश्व टी-२० क्रिकेटका अहिलेका सबैभन्दा उत्कृष्ट अलराउण्डर हुन् । उनले ९ बलमा सबैभन्दा छिटो टी-२० अन्तर्राष्ट्रिय अर्धशतकको रेकर्ड राखेका छन् । उनले ९० खेलमा १३९-११ को स्ट्राइक रेटमा १९५६ रन बनाएका छन् ।

त्यस्तै नेपालका लागि सन्दीप लामिछानेको भूमिका पनि महत्त्वपूर्ण हुने छ । विश्वभर लिग खेलेका र अनुभवी सन्दीपले इङल्याण्डको ब्याटिंग लाइनअपलाई दिने चुनौतीकै आधारमा नेपालको जित तय हुने या नहुने टुङ्गो लाग्ने देखिन्छ । सन्दीपले ६८ टी-२० खेलमा खेलमा १२९ विकेट लिएका छन् ।

नेपालका लागि कप्तान रोहित पौडेल, कुशल भुर्तेल, अनुभवी करण केसी र सोमपाल कामीको भूमिका महत्त्वपूर्ण रहने छ । इङल्याण्डविरुद्ध नेपालका लागि आज जति ठुलो चुनौती देखिएको छ, त्यति नै नयाँ इतिहास रच्ने अवसर नेपालाई रहेको छ ।    

इङल्याण्डको टिममा धेरै स्टार खेलाडीहरु छन्, जसको चुनौती नेपालका लागि सहज हुने छैन । जसमा जोस बटलर प्रमुख छन् । उनी इङ्ल्यान्डका सबैभन्दा सफल ब्याट्सम्यानहरू मध्ये एक हुन् । बटलरले १४७ खेलमा ३९५० रन बनाएका छन् । उनको स्ट्राइक रेट १४८.६६ छ, जसमा एक शतक र २८ अर्धशतक समावेश छ ।

त्यस्तै स्पिनर आदिल रशिदले पनि नेपाललाई चुनौती दिन सक्छन् । उनी इङल्याण्डको अहिलेको टिमको बलिङ आक्रमणको प्रमुख अस्त्र हुन् । रशिदले १३७ खेलमा १५० विकेट लिएका छन् । 

त्यस्तै अर्का खेलाडी हुन् बलर जोफ्रा आर्चर । चोटबाट फर्किएका आर्चरले नेपालको लागि ठूलो चुनौती खडा गर्नेछन् । 

पूर्व च्याम्पियन इङ्ल्यान्ड आईसीसी वरीयतामा तेस्रो स्थानमा छ । विश्वकप हुनुभन्दा ठीक अगाडि, टोलीले न्युजिल्यान्ड र श्रीलंकाविरुद्ध सिरिज जितेर आफ्नो मनसाय स्पष्ट पारेको छ । यस पटक, टोली नयाँ कप्तान ह्यारी ब्रुकको नेतृत्वमा मैदानमा छ ।

वानखेडेको पिच सधैँ रनको लागि परिचित छ । छोटो बाउन्ड्रीले फिल साल्ट र बटलर जस्ता पावर हिटरहरूलाई ठुला सटहरू खेल्न सजिलो बनाउछ । तीव्र बलरहरूले सुरुवाती ओभरहरूमा स्विङ पाउन सक्छन्, स्पिनरहरू सहयोगी हुने सम्भावना कम हुन्छ । यहाँको औसत स्कोर १८० छ, जुन २२० सम्म पनि जान सक्छ ।

इङल्याण्डले आफ्नो प्लेइङ-११ मा कप्तान ह्यारी ब्रूक, फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम बानटन, साम कुरान, विल ज्याक, लियाम डावसन, जोफ्रा आर्चर, आदील राशिद र लुक वूडलाई सामेल गरेको छ ।

त्यस्तै नेपालको सम्भावित प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, शेर मल्ल, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

प्रतिक्रिया दिनुहोस्