काठमाडौं । मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूका बीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टोलीको प्रदर्शन र भावी दिशाबारे विश्लेषण गरेका छन् ।
क्रिकेट संघका सचिव तथा पूर्व कप्तान पारस खड्काले इङ्ल्याण्डविरुद्धको उत्कृष्ट खेल र इटालीसँगको अप्रत्याशित हारपछि नेपाली क्रिकेटको भावनात्मक पक्ष र नतिजामा एकरुपताको विषयलाई विशेष जोड दिएका हुन् ।
विश्वकपको मञ्चमा इङ्ल्यान्डजस्तो दाबेदार टोलीसँग ४ रनले मात्र हार्दा पाएको वाहवाही र त्यसको केही दिनमै इटालीसँगको हारले नेपाली क्रिकेटमा ठूलो उतारचढाव देखाएको उनले बताए।
उनले भने, “नेपाल क्रिकेटको समर्थक हुन सजिलो छैन । म आफैँ पनि पूर्व कप्तान हुँ र अहिले समर्थकका रुपमा हेर्दा म्याच हेर्न खेल्नुभन्दा धेरै गाह्रो हुने रहेछ । हामी भावनात्मक रुपमा धेरै ‘ड्रिभन’ छौँ।’
कन्सिस्टेन्सीः मुख्य चुनौती
खड्काले सन् १९९६ देखि २०२४ सम्मको ३० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको स्मरण गर्दै नेपालमा अझै बलियो क्रिकेट संरचना नभएको स्वीकार गरे। ‘हाम्रो कुनै स्ट्रक्चर छैन जहाँबाट खेलाडीहरू उत्पादन होस् । जेनेरेसन अफ खेलाडी र प्रशिक्षकहरूको मेहनतले हामी यहाँसम्म आइपुगेका हौँ,’ उनले भने । उनले नेपालीहरूको राष्ट्रिय स्वभाव नै भावनात्मक हुने र त्यसैको प्रतिबिम्ब क्रिकेट टोलीमा पनि देखिने टिप्पणी गरे।
इटालीसँगको हारः एक पोस्टमार्टम
इटालीसँगको हारबारे खड्काले इटाली युरोपबाट क्वालिफाइड भएर आएको टिम भएको बताए। उनले भने, ‘इटाली युरोपबाट क्वालिफाइड भएर आएको टिम हो । उनीहरूसँग डगी ब्राउन र केभिन ओ‘ब्रायनजस्ता अनुभवी प्रशिक्षकहरू छन् । हामीले पहिलो म्याचको ‘पोजिटिभ ब्यागेज’ धेरै क्यारी गर्यौं जस्तो लाग्छ । हिजोको २० ओभर ब्याटिङ र साढे १२ ओभरको बलिङ हाम्रो टोलीले खेलेको अहिलेसम्मकै खराब क्रिकेटमध्ये एक थियो ।’
आगामी लक्ष्यः वेस्ट इण्डिज र स्कटल्याण्ड
गणितीय रुपमा अझै पनि नेपालको अर्को चरणमा पुग्ने सम्भावना जीवित रहेको भन्दै खड्काले आगामी दुई खेलमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। वेस्ट इण्डिजसँगको खेल नेपालका लागि पहिलो पटक टेस्ट राष्ट्रलाई हराउने ऐतिहासिक मौका भएको उनले उल्लेख गरे। ‘वेस्ट इन्डिज र स्कटल्यान्डसँगको खेल सजिलो छैन, तर हाम्रा केटाहरूले ‘फाइट ब्याक’ गर्नेछन् भन्नेमा हामीलाई विश्वास छ,’ उनले भने।
खड्काले समर्थकहरूलाई धैर्यता राख्न र टोलीको मनोबल बढाउन आग्रह गरे। गाली पनि मायाले नै आउने भन्दै उनले खेलाडीहरूलाई मेन्टल्ली अझ बलियो बनाउनुपर्ने बताए। ओडीआई स्टाटस बचाउन र नेपाली क्रिकेटलाई बलियो बनाउन संघले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।












