काठमाडौं । आईपीएल टिम राजस्थान रोयल्सले टिमको नयाँ कप्तानका रूपमा २४ वर्षीय अलराउन्डर रियान परागलाई नियुक्त गरेको छ । यो निर्णय पूर्वकप्तान संजु सैमसन ट्रेड विन्डोमार्फत चेन्नई सुपर किंग्समा गएपछि लिइएको हो । सैमसनको बदलामा चेन्नईले रवींद्र जडेजा र सैम करनलाई राजस्थानमा पठाएको छ ।

परागले २०२५ सिजनमा सैमसन घाइते हुँदा ८ खेलमा टोलीको कप्तानी सम्हालेका थिए । तीमध्ये टोलीले २ खेल जिते पनि परागले ब्याटिङमा प्रभावशाली प्रदर्शन गर्दै ३८.५७ को औसतमा रन बनाएका थिए । विशेषगरी कोलकाता नाइट राइडर्सविरुद्ध ईडन गार्डन्समा बनाएको ९५ रन उनको करियरकै उत्कृष्ट इनिङ्स मानिएको छ ।
हेड कोच कुमार संगाकाराले विभिन्न खेलाडीको अन्तर्वार्ता लिएपछि परागलाई कप्तान बनाउने निर्णय गरेका हुन् । २०२५ मा राजस्थानले १४ मध्ये केवल ४ खेल जित्दै अङ्क तालिकामा तलबाट दोस्रो स्थानमा सिजन सकाएको थियो । साथै, पूर्व प्रशिक्षक राहुल द्रविड पनि टोलीबाट अलग भइसकेका छन् ।
अब संगाकारा-पराग जोडीमाथि राजस्थानलाई पुनः प्रतिस्पर्धात्मक बनाउने जिम्मेवारी रहनेछ । नयाँ सिजनमा जडेजा र करनको आगमनले टोलीको लोअर मिडिल अर्डर र बलिङ विभाग थप सुदृढ हुने अपेक्षा गरिएको छ ।












