Logo
Logo

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिज सुपर ८ मा प्रवेश


567
Shares

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल समूह चरणमै रोकिएको छ । पहिलो खेलमा इंल्यान्डसँग ४ रन र दोस्रो  खेलमा इटलीसँग १० विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले हारेको हो । 

यो जितसँगै वेस्ट इन्डिज लगातार तेस्रो जितसँगै सुपर ८ मा प्रवेश गरेको छ । नेपाल भने लगातार तेस्रो हारसँगै अङ्कविहीन छ । नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।  

भारत मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १५।२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । क्यारेबियन टोलीलाई सुपर ८ मा पुर्याउन सिमरोन हेट्मेयरले ४६ र साई होपले ६१ रनको योगदान गरे । ब्रेन्डोन किङ २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए ।  

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए। सोमपाल कामी २६ रनमा नटआउट रहँदा लोकेश बमले १३, आशिफ शेख र गुल्शन झाले समान ११ रन बनाए । क्यारेबियन टोलीका लागि जासन होल्डरले सर्वाधिक ४ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्