गाजा । गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आइतबार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी र दक्षिणी गाजाका शरणार्थी शिविर र विस्थापितहरूको आश्रयस्थलमा यी आक्रमणहरू भएका हुन् ।

यसअघि नौ जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको सङ्ख्या परिमार्जन गरिएको थियो । नागरिक रक्षा प्रवक्ता महमुद बसलले इजरायली लडाकु विमान र ड्रोनले बिहानदेखि मध्याह्नसम्म विभिन्न क्षेत्रमा आक्रमण गरेको बताए ।
गाजा सहरको पश्चिममा पर्ने तेल अल–हावामा भएको ड्रोन आक्रमणमा सामी अल–दहदोह नाम गरेका एक व्यक्तिको मृत्यु भएको छ । जो इस्लामिक जिहाद समूहका सदस्य रहेको बताइएको छ । त्यस्तै, उत्तरी गाजाको बेत लाहियामा भएको अर्को आक्रमणमा तीन जना गम्भीर घाइते भएका छन् ।
यसअघि जबालिया शरणार्थी शिविर र खान युनिसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा १० जनाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले जबालियाको उत्तरमा रहेको शेख जायद क्षेत्रमा घरहरू समेत भत्काएका छन् । गाजा सहरको पूर्वी भागमा पर्ने अल–तुफाह क्षेत्रमा पनि आर्टिलरी गोलाबारी भएको खबर छ ।
गाजा स्वास्थ्य अधिकारीका अनुसार युद्धविराम लागू भएदेखि ६०१ प्यालेस्टिनी मारिएका छन् भने १ हजार ६ सय ७ घाइते भएका छन् । ७ अक्टोबर २०२३ देखि हालसम्म कुल मृतकको सङ्ख्या ७२ हजार ६१ पुगेको छ र १ लाख ७१ हजार ७ सय १५ जना घाइते भएका छन् ।












