काठमाडौं । अफगानिस्तानका स्टार स्पिनर रशिद खानले टी-२० क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । रशिदले टी-२० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् ।

जारी टी-२० विश्वकपमा युएईविरुद्धको आजको खेलमा एक विकेट लिएसँगै रशिदले आफ्नो क्यारियरमा टी-२० मा ७०० विकेट पुरा गरेका हुन् ।
रशिदले विश्वकप सुरु हुनु अघि करिब ९-१० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामै टी-२० मा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्ने अवसर आफ्नो लागि सपनाभन्दा ठूलो उपलब्धि भएको उनले बताएका थिए । उनले कहिल्यै आफ्ना विकेट नगनेको बताउँदै मिडियाबाटै ४००, ५००, ६०० पुगेको थाहा पाएको बताएका थिए ।
उनले आफू सधैँ टोलीका लागि कठिन परिस्थितिमा बलिङ गर्न चाहने र त्यही लक्ष्यले केन्द्रित बनाएको बताएका थिए ।
रशिदले अफगानिस्तानको राष्ट्रिय टिमबाट खेल्दै १९१ विकेट लिएका छन् भने बाँकी विकेट विश्वभरका फ्रेन्चाइज खेलमा लिएका हुन् । उनले आइपिएलमा १५८ विकेट लिएका छन् भने बिग बाश लिगमा ९८ विकेट लिएका छन् । त्यसैगरी पीएसएलमा ४४, हन्ड्रेडमा ३६ र भिटालिटी बलाष्टमा ३४ विकेट लिएका छन् । उनी विश्वभरका टी-२० लिग खेल्ने गर्दछन् ।
टी-२० क्रिकेटमा रशिदपछि धेरै विकेट लिने खेलाडीमा वेस्ट इण्डिजका डवाने ब्राभोलसए ६३१, सुनिल नारनले ६१३, पाकिस्तानका इमरान ताहिरले ५७२, वेस्ट इण्डिजका आन्द्रे रासेलले ५०८ विकेट लिएका छन् ।












