Logo
Logo

टी-२० विश्वकपः स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य


63
Shares

काठमाडौं । आइसिसी टी २० विश्वकप २०२६ अन्तर्गत नेपाललाई अन्तिम खेलमा स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो ।

स्कटल्यान्डका ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। पहिलो विकेटका लागि स्कटल्यान्डले ८० रनको साझेदारी गरेको थियो । उक्त साझेदारी नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे। उनले दशौं ओभरको अन्तिम बलमा जर्ज मन्सेलाई २७ रनमा आउट गराए।

२९ बल खेलेका मन्सेले ४ चौका प्रहार गरेका थिए। रिभर्स स्विप खेल्ने क्रममा उनी लङ अनमा सन्दीप जोराद्वारा क्याच आउट भए।

पावरप्लेमा स्कटल्यान्डले बिना विकेट ५२ रन जोड्दै नेपालमाथि दबाब बनाएको थियो। मन्सेले सम्हालिएर खेले पनि जोन्सले आक्रामक ब्याटिङ गरे। उनले ३१ बलमै अर्धशतक पूरा गर्दै ६ चौका र २ छक्का प्रहार गरे।

जोन्सले दोस्रो विकेटका लागि ब्रान्डन म्याकमुलेनसँग ५२ रनको साझेदारी गरे। उनलाई १६औं ओभरको दोस्रो बलमा सोमपाल कामीले बोल्ड गरे। जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का सहित ७१ रन बनाए। त्यसको एक बलपछि सोमपालले म्याकमुलेनलाई पनि आउट गरे। १९ बल खेलेका म्याकमुलेनले २५ रन बनाउँदै १ चौका र १ छक्का प्रहार गरे।

१७औं ओभरमा लोकेश बमले बाउन्ड्री नजिक रिची बेरिङटनको क्याच छुटाए, जसले छक्कामा परिणत भयो। तर दुई बलपछि कुशल भुर्तेलको बलमा बेरिङटन १० रनमा सन्दीप जोराद्वारा क्याच आउट भए।

१८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रसलाई ४ रनमा बोल्ड गरे। १९औं ओभरमा सोमपालले टम ब्रुसलाई ५ रनमा बोल्ड गर्दै तेस्रो विकेट लिए। अन्तिम ओभरमा नन्दन यादवले माइकल लिक्सलाई ४ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए। उक्त निर्णय नेपालले रिभ्यु लिएर आफ्नो पक्षमा पारेको थियो। अन्तिम बलमा भने मार्क वाटले छक्का प्रहार गर्दै नटआउट १० रन बनाए।

नेपाली बलरले सुरुआतमा दबाब झेले पनि अन्तिम पाँच ओभरमा ६ विकेट लिँदै ३९ रन मात्र खर्चिए।
बलिङतर्फ सोमपाल कामीले ४ ओभरमा २५ रन दिँदै ३ विकेट लिए। नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १र१ विकेट लिए। सन्दीप लामिछाने भने ३ ओभरमा २९ रन खर्चेर विकेटविहीन रहे।

यस खेलमा नेपालले करण केसीको स्थानमा सन्दीप जोरालाई अवसर दिएको थियो। १५ सदस्यीय टोलीमध्ये बसिर अहमदले यस संस्करणमा खेल्ने मौका पाएनन्। समूह ‘सी’ मा लगातार तीन खेल हार्दै नेपाल बाहिरिसकेको थियो भने स्कटल्यान्ड पनि अघिनै बाहिरिइसकेको थियो। त्यसैले यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको प्रतिस्पर्धा बनेको छ।

प्रतिक्रिया दिनुहोस्