
काठमाडौं । राजनीतिक आन्दोलनका नाममा कयौँ सपनाहरू निभाइए, कयौँ काखहरू रित्तिए । तर, जसले आफ्नो सन्तान गुमाए, उनीहरूको मनमा त्यो ‘युद्ध’ कहिल्यै सकिएन । त्यो कहालीलाग्दो यथार्थ जीवितै छ । यही निर्मम यथार्थ र एउटी आमाको अनन्त पर्खाइलाई पर्दामा उतारेको सांगीतिक चलचित्र ‘शहीदकी आमा’ सार्वजनिक भएको छ ।
सर्जक रतन देवकोटाको कथा, निर्देशन, संगीत तथा स्वरमा तयार भएको यो गीतले दर्शकको मन भत्काउँछ । गीतको रचना चर्चित कवि अर्जुन पराजुलीले गरेका छन्, जसमा सहीदको रगत खेर नजावस भन्दै आमालाई र देशलाई भनेका छन् ।
भिडियोको केन्द्रीय पात्रमा दिग्गज अभिनेत्री सरिता गिरी छन् । उनले एउटी यस्ती आमाको भूमिका निभाएकी छन्, जो आफ्नो छोरा मारिएको (सहिद भएको) कुरा स्वीकार्न तयार छैनन् । आमालाई लाग्छ, छोरा झोला बोकेर स्कुल पढ्न गएको हो, आन्दोलनमा होइन । उनी दिनरात भित्तामा कोइलाले धर्को कोर्दै छोराको जाँच सकिने दिन गनिरहन्छिन् ।
भिडियोको एउटा दृश्यमा सपनामा छोराले ‘आमा…’ भनेको सुन्दा आमाको छटपटी र ब्युँझिएपछि सर्ट र लालटिन बोकेर खेतको बुख्याँचालाई छोरा सम्झिँदै अंगालो हालेको क्षण निकै मार्मिक र प्रतीकात्मक छ । छोराको रगत लतपतिएको सर्टको प्वाल छाम्दै आमाले अभिव्यक्त गर्ने भावले दर्शकको आँखा रसाउँछ ।
निर्देशक देवकोटा भन्छन्, ‘यो केवल गीत होइन, यो द्वन्द्वले दिएको कहिल्यै नपुरिने घाउको कथा हो । यहाँ आमाको भ्रम र यथार्थको द्वन्द्वलाई कलात्मक रूपमा देखाइएको छ ।’
भिडियोको सिनेम्याटोग्राफी सरोज कुमार चौहानले गरेका हुन् भने सम्पादन प्रविन भट्टको रहेको छ । भिडियोको दृश्य भाषा यति बलियो छ कि संवादविनै पात्रको पीडा दर्शकको मुटुमा बिझ्छ ।
गीतमा रोमी बस्नेतको संगीत संयोजन तथा उत्पादन र कोबिड बज्रको मिक्सिङ÷मास्टरिङ रहेको छ । यस्तै, वरिष्ठ स्रष्टा धीरेन्द्र प्रेमहर्षिले संगीत सुपरभिजन गरेका छन् ।
अन्त्यमा, बुख्याँचाको छातीको घाउबाट पलाएको मुना देखाएर निर्देशकले सहिदको शरीर ढले पनि विचार र सपना कहिल्यै मर्दैन भन्ने सन्देश छोडेका छन् ।











