
कलाकारितामा आफ्नो भविष्य देखेर स्नेहा जोशी रंगमञ्चमा रमाइरहेकी छिन् । उनी, नाटक, म्युजिक भिडियो हुँदै अहिले सिनेमामा प्रवेश गरेकी छिन् । बाजुरामा जन्मेकी जोशीले भर्खरै तेस्रो चलचित्र ‘साब्री’को अभिनय सकेकी छिन् । उनै नायिका स्नेहा जोशीसँग रेजिना पाण्डेको जम्काभेट ।
असाध्यै राम्री भएर सिनेमा आउनु भएको हो ?
म राम्री नै देखिन्छुु नि, यसमा शंका छ र ? तर, सिनेमा क्षेत्रमा राम्रो भएर मात्रै पुग्दैन, यो क्षेत्रलाई बुझनुपर्छ । विषयबस्तु बुझ्ने खुबी चाहिन्छ । यी सबैको कारण म यो क्षेत्रमा अगाडि बढ्दै छु ।
रंगमञ्चमा आउनुको कारणचाहिँ के हो ?
रंगमञ्चमा आउने मेरो सानैदेखिको रहर थियो । बाजुराजस्तो ठाउँमा जन्मेर हुर्केर सफल नायिका बन्ने सपना देखेकी थिएँ । त्यसैले काठमाडौं आएर थिएटर क्लास लिएँ, नृत्य सिकेँ, धेरै ज्ञान हासिल गरेँ । र, अहिले सिनेमा क्षेत्रमा संघर्ष गर्दैछु ।
फिल्मी यात्राको सुरुवात कसरी भयो ?
थिएटरमा काम गर्दा गर्दा म्युजिक भिडियोमा अफर आयो । म्युजिक भिडियोमा काम गर्दैगर्दा ‘जन्ती बाख्रो’मा सानो भूमिकामा काम गर्ने अवसर मिल्यो । त्यही अनुभव र अभिनयले आज लिड रोल गर्ने मौका पाएँ ।
थिएटरबाट सिनेमामा किन आउनुभयो ?
थिएटरमा सीमित दर्शक हुन्छन् भने, सिनेमाको बजार ठुलो छ । सिनेमामा दर्शकको भीड हुन्छ । मलाई सबै चिनुन्, कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउन सकूँ भनेर नै सिनेमामा आएकी हुँ ।
तपार्इं अभिनित चलचित्र ‘साब्री’ कहिले प्रदर्शनमा आउँदैछ ?
भर्खरै मात्र यो फिल्मको काम सिद्धियो । २०८३ सालको दशैँतिर प्रदर्शनमा ल्याउने तयारी छ ।
साब्री को अर्थ के हो ?
यसको संघर्षपछिको सफलता अर्थात (मिहेनतको फल) हो । यो चलचित्रले संघर्षका कुराहरू देखाउँछ, बुझाउँछ ।
साब्री कस्तो खालको चलचित्र हो ?
यसमा महिलाको संघर्षको कथाहरू धैरै छन् । महिलाको मिहेनत, परिश्रम, त्याग आदिलाई मीठो ढंगले प्रस्तुत गरिएको छ । मायापे्रमको यथार्थ पनि यो सिनेमामा छ । महिला पात्रकै वरिपरि सिनेमा घुमेको छ । इन्द्र कार्कीको कथामा मदन घिमिरेले निर्देशन गर्नुभएको छ । राम्रो कथाबस्तुतमा सिनेमा बनेको छ ।
साब्रीमा स्कृन शेयर कोसँग गर्नु भएको छ ?
यसमा दुई नायक प्रमोददीप अधिकारी र कर्ण कार्कीसँग स्कृन शेयर गरेकी छु । अधिकारी मेरो पे्रमी र कार्की मेरो श्रीमानको भूमिकामा हुनुहुन्छ ।
पे्रमी र श्रीमान पनि अलग–अलग हुन्छ त ?
यसको रहस्य बुझ्न सिनेमा नै हेर्नुपर्छ ।
साँच्चै पे्रमी र श्रीमान एकै साथ देखियो भने के हुन्छ ?
यो त जसलाई परेको छ, उसैले नै भन्न सक्छ । त्यो कुरा भन्न एकदम कठिन हुन्छ जस्तो लाग्छ । मैले त सिनेमामा अभिनय मात्रै गरेकी हुँ ।
अब चलचित्रमा कोसँग स्कृन शेयर गर्न मन छ ?
एउटा कलाकारले यो वा त्यो भनेर हुँदैन । सबैसँग काम गर्नुपर्ने हुन्छ । तर, भनिहाल्नु पर्दा सौगात मल्ल र अनमोल केसीसँग रहर छ ।
सिनेमामा नभएको भए अरू के काम गनुहुन्थ्यो ?
पत्रकारिता नै गर्थेँ कि । मैलै पत्रकारितामा मास्टर गर्दै छु । तर, म कलाकारितामै भाग्य अजमाइरहेकी छु ।
सिनेमामा आउन रुपले कतिको फरक पार्छ ?
रुपले फरक पार्छ नै । कलाकार समाजको ऐना हुन् । सुन्दर, सुहाउँदो हुनैपर्छ ।
तपाईंलाई रुपमा कतिको घमण्ड लाग्छ ?
लाग्दैन, मभन्दा धैरै राम्रा मेरा साथीहरू नै छन् । जो यो कला क्षेत्रमा छैनन्, उनीहरूलाई देखेर लाग्छ कि–संसारमा यति सुन्दर मान्छे पनि हुन्छ र ?
भोट कहाँबाट हाल्दै हुनुहुन्छ ?
भोट हाल्न मलाई रहर नै लाग्दैन । किनभने म आज २५ वर्षको भएँ । मैले मेरो घर बाजुरामा २० वर्षसम्म बत्ती देख्न पाइनँ । उज्यालो पाउनका लागि घर छोडेर कैलाली आउनुप¥यो । अझै प्रसुती सेवा नपाएर सुत्केरी मर्नुपर्ने अवस्था छ । एकसरो नयाँ लुगा लगाउनका लागि दशैँ कुर्नुपर्छ ।
धेरै उदास हुनुभयो नि ?
देशको अवस्था देखेर मन रुन्छ । हामीजस्ता दुर्गम गाउँमा जन्मेकाको लागि कुनै एजेण्डा नै छैन । चुनावको बेला भोट माग्न घरदैलो पुग्छन, जितेपछि काठमाडौंमा भाषणमै रमाउँछन् । आफ्नो भोट नै खेर जान्छ जस्तो लाग्छ ।











