Logo
Logo

मध्यपूर्व तनाव : अहिलेसम्म के-के भयो ?


1.1k
Shares

एजेन्सी । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सुरु गरेको आक्रमणले मध्यपूर्व पूर्ण रूपमा तनावग्रस्त बनेको छ । शनिबार आफूमाथि भएको आक्रमणपछि इरानले इजरायलको राजधानीलगायतका सहरहरू र अमेरिकी सेनाका बेसक्याम्पहरू रहेका मध्यपूर्वका राष्ट्रहरूमा पनि जवाफी हमला गरेको छ ।

साथै, विश्वभरबाट जारी युद्धका बारेमा विभिन्न प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन् । यसैबीच, इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी र उनको परिवारका सदस्यहरू मारिएका छन् । यसले विश्व राजनीतिमा ठूलो तरंग पैदा गरेको छ ।

इजरायली आक्रमणको मुख्य निशानामा रहेका खामेनी र उनका परिवारका सदस्यहरू एक गोप्य ‘सेफ हाउस’ मा रहेकै बेला इजरायली ‘बङ्कर बस्टर’ मिसाइलको चपेटामा परेका थिए ।

इरानको विद्यालयमा आक्रमण : मारिनेको संख्या ५१ पुग्यो
दक्षिणी इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब शहरको एक प्राथमिक बालिका विद्यालयमा आक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । इरानको सरकारद्वारा सञ्चालित समाचार एजेन्सीका अनुसार सुरुमा ५ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको थियो । त्यसपछि उक्त संख्या २४ र ४० हुँदै अहिले मृतक संख्या बढेर ५१ पुगेको जनाएको छ ।

इरानी नेताहरू ‘सुरक्षित’ रहेको दाबी
फारसी न्युज एजेन्सीले इरानका नेताहरू राष्ट्रपति मसौद पेजेश्किन, सभामुख मोहम्मद बघेर गालिबाफ र सुरक्षा प्रमुख अलि लारीजानी पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।

समाचारमा उल्लेख छ, ‘इजरायली स्रोतहरूले राष्ट्रपति र वरिष्ठ नेताहरूलाई लक्षित गरी सफल आक्रमण गरेको दाबी गरे पनि, देशभित्रका आधिकारिक स्रोतहरूले सशस्त्र बलका प्रमुखहरूसहित वरिष्ठ अधिकारीहरू पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको बताएका छन् ।’

इरानले कसरी प्रतिक्रिया दियो ?

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि छिट्टै उत्तरी इजरायलमा विस्फोटका आवाजहरू सुनिएका थिए । जहाँ इजरायलले इरानी क्षेप्यास्त्रहरू खसाल्ने प्रयास गरेको अन्तर्राष्ट्रय समाचार संस्था अलजजिराले जनाएको छ ।

इरानी प्रहारको सामना गर्न इजरायली सेनाले हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको घोषणा गरेलगत्तै विस्फोटहरू सुनिएका थिए । हालसम्म जारी आक्रमणबाट मानवीय क्षति वा भौतिक क्षतिको विवरण आइसकेको छैन ।

अमेरिकी सैन्य बल तैनाथ रहेका कतार, कुवेत, यूएई र बहरेनलगायतका खाडी अरब देशहरूमा पनि विस्फोट भएको खबर आएका छन् । इरानको फार्स न्युज एजेन्सीले तेहरानले ती प्रत्येक देशमा रहेका सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ । लक्ष्यमध्ये कतारको अल उदेइद एयर बेस र बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालय पनि रहेको बताइएको छ ।

कतारको राजधानीमा समय–समयमा विस्फोटका आवाजहरू सुनिरहेका छन्, जहाँ हवाई प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरू अवरोध गरिरहेको जनाइएको छ ।

कतार र अन्य खाडी राष्ट्रतर्फ धेरै क्षेप्यास्त्र प्रहार गरिएपछि यो पछिल्लो श्रृंखलाका विस्फोटहरू भएका हुन् ।
राजधानीको बाहिरी आवासीय क्षेत्रमा अवरोध गरिएका क्षेप्यास्त्रका टुक्रा खस्दा धुवाँ उडिरहेको देखिएको थियो ।

अमेरिकाले ‘व्यापक’ हवाई र समुद्री आक्रमण जारी राख्ने
एक अमेरिकी अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था अलजजजिरालाई बताएअनुसार, अमेरिका इरानमाथि हवाई र समुद्री मार्गबाट ‘व्यापक’ आक्रमण जारी राख्ने भएको छ ।

इरानको सुरक्षा संयन्त्रलाई कमजोर पार्ने उद्देश्यले गरिएको ती अमेरिकी–इजरायली आक्रमणहरू हाल इरानभित्र मात्रै सीमित रहेको उनले बताएका छन् । आक्रमणमा अमेरिकी वायुसेना पनि सहभागी रहेको र इजरायली सेनासँग समन्वय भइरहेको अलजजिराले उल्लेख गरेको छ ।

आक्रमणबारे ट्रम्पको प्रतिक्रिया–
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल संयुक्त रूपमा इरानमाथि गरिएको आक्रमण ‘इरानी शासनबाट आउने आसन्न खतरालाई समाप्त गर्ने’ उद्देश्यले गरिएको बताएका छन् ।

‘हाम्रो उद्देश्य इरानी शासनबाट आउने खतरा हटाएर अमेरिकी जनताको रक्षा गर्नु हो,’ ट्रम्पले भनेका छन्, ‘उनीहरूको क्षेप्यास्त्र नष्ट गर्ने र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्ने हाम्रो उद्देश्य हो ।’

ट्रम्पले इरानी नौ सेनालाई समाप्त गर्ने, त्यहाँका ‘आतंकवादी’ समूहहरूले अब सोही क्षेत्र वा विश्वलाई अस्थिर पार्न नसक्ने सुनिश्चित गर्ने बताएका छन् । उनले अमेरिकालाई कसैले पनि चुनौती दिन नहुने सन्देश दिएको भन्दै इरानले परमाणु हतियार कहिल्यै प्राप्त नगरोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

नेतन्याहूले के भने ?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले अमेरिका–इजरायल संयुक्त आक्रमणले इरानबाट आउने ‘अस्तित्वको खतरा’ लाई नै हटाउने उद्देश्य राखेको बताएका छन् ।

अमेरिकासँग मिलेर आक्रमण गरेका नेत्यान्याहुले भने इरानी जनताका लागि अत्याचार हटाएर स्वतन्त्र र शान्तिप्रेमी इरान निर्माण गर्ने समय आएको बताएका छन् ।

‘हाम्रो संयुक्त अभियानले साहसी इरानी जनतालाई आफ्नो भविष्य आफ्नै हातमा लिन सक्ने अवस्था सिर्जना गर्नेछ,’ उनले भनेका छन् ।

रूसद्वारा अमेरिका-इजरायल आक्रमण तुरुन्त रोक्न आग्रह
रूसले अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको आक्रमण तुरुन्त रोक्न आह्वान गरेको छ । साथै, युद्धको स्थितिलाई ‘राजनीतिक तथा कूटनीतिक समाधानको बाटोमा फर्काइनु पर्ने’ बताएको छ ।

रूसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायले उक्त क्षेत्रलाई थप अस्थिर बनाउने गैरजिम्मेवार कदमहरूको वस्तुनिष्ठ मूल्याङ्कन छिटो गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।

साथै, अन्तर्राष्ट्रिय कानुन, पारस्परिक सम्मान र हितको सन्तुलनका आधारमा शान्तिपूर्ण समाधान खोज्न सहयोग गर्न आफू सधैँ तयार रहेको पनि रूसले जनाएको छ ।

इजरायल र अमेरिकाको आक्रमणबारे कुन देशले के भने ?
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले अमेरिका र इजरायलद्वारा गरिएको ‘एकपक्षीय’ सैन्य कारबाही अस्वीकार्य रहेको बताएका छन् । उनका अनुसार यसले तनाव बढाएको र अन्तर्राष्ट्रिय व्यवस्थालाई अझ अनिश्चित तथा शत्रुतापूर्ण बनाएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत सान्चेजले इरानी सरकार र रिभोल्युशनरी गार्डका गतिविधिहरू पनि स्वीकार गर्न नसकिने बताएका छन् ।

बेल्जियमका परराष्ट्रमन्त्री म्याक्सीम प्रेभोटले इरानी जनताले आफ्ना शासकले गरेका निर्णयहरूको मूल्य चुकाउन नहुने बताएका छन् । ‘इरानी जनताले आफ्ना सरकारका निर्णयहरूको मूल्य चुकाउन नपरोस्,’ उनले कूटनीतिक प्रयासले समयमै वार्तामार्फत समाधान दिन नसकेकोमा गहिरो दुःख व्यक्त गर्दै भनेका छन् ।

नर्वेजियन परराष्ट्रमन्त्री एस्पेन बार्थ ऐडीले आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको बताएका छन् । ‘इजरायलले यसलाई पूर्व–निरोधात्मक आक्रमण भने पनि, यो अन्तर्राष्ट्रिय कानुनअनुसार छैन,’ उनले भनेका छन् ।

पाकिस्तानः पाकिस्तानी परराष्ट्रमन्त्री इश्क दरले इरानमाथि भएको ‘अनावश्यक आक्रमण’ को कडा निन्दा गर्दै तत्काल तनाव घटाउन कूटनीति पुनः सुरु गर्न आग्रह गरेका छन् ।

अमेरिकासँग चाँडै बदला लिने इराकी समूहको धम्की
इराकको अर्धसैनिक समूह हिज्बुल्लाहले आफूहरूमाथि लक्षित आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य अड्डामाथि छिट्टै आक्रमण सुरु गर्ने जनाएको छ । यो समूह सन् २०१४ मा (आईएसआईएस) को तीव्र विस्तार रोक्न स्थापना गरिएको पपुलर मोबिलाइजेसन फोर्सेसको ठूलो घटकमध्ये एक हो । दक्षिणी इराकको जुर्फ अल–साखेर (जुर्फ अल–नस्र) अड्डामाथि गरिएको हवाई आक्रमणमा दुई लडाकु मारिएका थिए ।

बहराइनको जुफैर क्षेत्रमा बसोबास गर्नेहरूलाई सारिँदै
बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक अड्डा रहेको जुफैर क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरेको जनाएको छ । यसअघि उक्त क्षेत्रमा धुवाँ उडिरहेको देखिएको अन्तर्राष्ट्रि सञ्चार माध्यमहरूले जनाएका थिए । त्यहाँको गृहमन्त्रालयले सम्बन्धित निकायहरूसँग सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

अमेरिका र इजरायलले इरानमाथि किन आक्रमण गरे ?
अमेरिका र इजरायलद्वारा तेहरानको परमाणु कार्यक्रम र क्षेत्रीय प्रभावलाई रोक्न इरानमाथि आक्रमण गरेको बताएका छन् ।
यी दुई सहयोगी राष्ट्रले लामो समयदेखि इरानको बढ्दो युरेनियम संवर्धन गतिविधि र क्षेप्यास्त्र क्षमताले आफ्नो अस्तित्वमै खतरा पैदा गरेको दाबी गर्दै आएका छन् । साथै, यसलाई रोक्न बल प्रयोग गर्ने चेतावनी पटक–पटक दिएका छन् ।

यसअघि गत वर्ष जुन महिनामा इजरायल र अमेरिकाले इरानका परमाणु तथा सैन्य स्थलहरूमा आक्रमण गरेका थिए, जसमा वरिष्ठ कमान्डरहरूको हत्या भएको थियो भने इरानभित्रका विभिन्न संरचनामाथि प्रहार गरेका थिए । तर इरानका राष्ट्रपति मसौद पेजेश्कियानलगायतले बारम्बार इरानले कहिल्यै परमाणु हतियार विकास नगर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्